logo
२०८० चैत्र १५ बिहीवार



लमजुङमा क्वारेन्टाइनबाट बसेका ५६ जना घर फर्किए

खुला |


लमजुङमा क्वारेन्टाइनबाट बसेका ५६ जना घर फर्किए


बेलिना थापा
लमजुङ, चैत २० गते । लमजुङका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट ५६ जना घर गएका छन् । विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्र्किएको हो । १४ दिन अवधिसम्म बसेको र स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्दा रुघाखोकी, ज्वरो तथा ज्यान दुख्नेलगायत स्वास्थ्य समस्या नदेखिएपछि उनीहरु घर फर्किएका हुन् । क्व्होलासोंथर गाउँपालिकाबाट सबैभन्दा बढी क्वारेन्टाइनबाट घर गएका छन् । गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा बसेको ४३ जना क्वारेन्टाइनको अवधि १४ दिन पूरा गरी घर गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु मगरले बताउनुभयो ।

उहाँका अनुसार मंगलबार ५ जना निस्केका थिए । बुधबार ८ जना क्वारेन्टाइनबाट निस्केका थिए । १४ दिन पूरा भएका ३० जना बिहीबार घर पठाइएको उहाँले बताउनुभयो । बिहीबार क्व्होलासोंथर ९ को थल्जुकन्या प्रावि टक्सारमा दुवईबाट आएर क्वारेन्टाइन बस्नुभएका लोकबहादुर विकसहित ८ जनाको परिवार घर फर्केको छ । क्व्होलासोंथर गाउँपालिकाले निर्माण गरेको ४ सय ४४ वेडको क्वारेन्टाइन निर्माण गरेको छ । अब १३ जनामात्रै क्वारेन्टाइनमा छन् ।

मध्यनेपाल नगरपालिकाबाट ५ जना क्वारेन्टाइनबाट बाहिरिएका छन् । १४ दिन पूरा भएपछि उनीहरु क्वारेन्टाइनबाट घर पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बस्नेहरुको दैनिक स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गर्छन् । १४ दिनसम्म कुनै समस्या नदेखिएकाले घर पठाइएको उहाँले बताउनुभयो ।

मध्यनेपाल ७ को इशानेश्वर क्याम्पसमा बनाइएको ५ जना क्वारेन्टाइनबाट घर गएका हुन् । उनीहरु सबै भारतमा बसेर काम गर्दै आएका स्थानीय हुन् । क्वारेन्टाइनमा अब ५ जना रहेको उहाँले बताउनुभयो । नगरपालिकाले वडा नम्बर ३ मा १० बेड, ४ मा ४ बेड, ६ मा १३ बेड, ७ मा ८ बेड, १० मा ५ बेड गरी ४० बेडको क्वारेन्टाइन बनाएका छन् ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालका अनुसार क्वारेन्टाइनमा बसेका ६ जना निस्केका छन् । बेंसीसहर नगरपालिका ७ सहजीस्थित सहरी विकास कार्यालयको भवनमा बसेका २ जना १४ दिन पुरा भएपछि फर्किएका हुन् । बेंसीसहर २ भकुण्डेस्थित बाल कल्याण माध्यमिक विद्यालयमा बसेका ४ जना निस्केका हुन् । ३ जनाको स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका छन् । क्वारेन्टाइनबाट निस्कनेमा दुवईबाट आएका, भारतीय नागरिक, भुटानबाट आएका छन् । नगरपालिकाले १ सय ६० बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या १० जना रहेको स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले बताउनुभयो ।

मस्र्याङदी गाउँपालिका ६ को चन्द्रोदय माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट २ जना बाहिरिएका छन् । भारतबाट उनीहरु क्वारेन्टाइन अवधि सकिएपछि बाहिरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । गाउँपालिकाले ६९ बेड क्षमताको क्वारेन्टाइन बनाएका छन् । १८ जना क्वारेन्टाइनमा बसेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?