logo
२०८१ बैशाख ६ बिहीवार



लमजुङमा विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा

प्रदेश |


लमजुङमा विदेशबाट फर्किएका २५७ जना होम क्वारेन्टाइनमा


लमजुङ, चैत १६ गते । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा चैत १ गते देखियता करिब दुई हप्ताको अवधिमा विदेशबाट फर्किएका २५७ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । विश्वमा फैलिएको कोभिड–१९ सङ्क्रमणको सम्भावित जोखिम तथा नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो ।

विदेशबाट फर्किएकामा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना हुने भएकाले सुरक्षितरूपमा होम क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “होम क्वारेन्टाइनमा बसेकामध्ये बेँसीशहर नगरपालिकामा ४६, मध्यनेपाल नगरपालिकामा १६, राइनास नगरपालिकामा ४५, दूधपोखरी गाउँपालिकामा १९, दोर्दी गाउँपालिकामा २०, सुन्दरबजार नगरपालिकामा ६०, मस्र्याङ्दी गाउँपालिकामा ४८ र क्वहोलासोथर गाउँपालिकामा तीन जना होम क्वारेन्टाइनमा रहेका छन् । जिल्लाका आठै स्थानीय निकायमा जनप्रतिनिधिले वडा वडाबाट विवरण सङ्कलन गरिरहेका छन् ।

त्यस्तै विदेशबाट फर्किएका २६ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । रोजगारीका लागि भारत, कतारलगायतका देशमा गएर फर्किएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । यही चैत १ गते देखियता विदेशबाट आएकामध्ये २६ जनालाई विभिन्न स्थानीय तहले जिल्लामा निर्माण गरिएको विभिन्न सेल्फ क्वारेन्टाइनमा राखेका हुन् ।

जिल्लाको क्वहोलासोथर गाउँपालिका–९ स्थित थल्जुकन्या प्राविमा निर्माण गरिएको क्वारेन्टाइनमा आठ जना, वडा नं ८ घाम्राङबेंसीस्थित चन्द्रदय प्राविमा निर्माण गरिएको क्वारेन्टाइनमा पाँच गरी १३ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनुभयो ।

त्यस्तै मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा नौ जना राखिएको छ । मस्र्याङ्दी गाउँपालिका–५ मा विदेशबाट फर्किका तीन जनालाई क्वारेन्टाइनमा राखिएको र अन्यको पनि खोजीकार्य भइरहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । त्यस्तै बेँसीशहर नगरपालिका–२ भुकुण्डेमा एक जना विदेशबाट फर्किएकालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै नौ जना विदेशी नागरिकलाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । यीमध्ये बेँसीशहर नगरपालिका–२ भकुण्डेको बालकल्याण माध्यमिक विद्यालयमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा सात भारतीय नागरिकलाई राखिएको सोही वडाका वडाध्यक्ष गणेश कँडेलले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित आमा समूहको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा दुई जर्मन नागरिक राखिएको गछ । जिल्लामा शनिबारसम्ममा विभिन्न स्थानीय तहले ८०० भन्दाबढी क्वारेन्टाइन निर्माण गरिसकेका छन् । विभिन्न स्थानीय तहले कोरोना सङ्क्रमणको लक्षण देखिएमा वा उपचारका लागि एक दर्जनभन्दा बढी निःशुल्क एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् ।

जिल्लामा सरकारले लागू गरेको लकडाउनको पूर्णरूपमा सफल बनाउन र कोरोना फैलिन नदिन उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक सेवाबाहेकका काममा हिँडडुल गर्न कडाइ गरिएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?