logo
२०८१ बैशाख ७ शुक्रवार



घरमै बस्न आग्रह

राष्ट्रिय |


घरमै बस्न आग्रह


नगेन्द्र सापकोटा / शान्ति लामा

काठमाडौँ, चैत १४ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण हुन नदिन एक सातासम्म घरभित्रै बस्न गरेको आग्रहलाई स्थानीय तहमा कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारी सक्रिय भएका छन् । लकडाउन कार्यान्वयन गर्न र अत्यावश्यक सेवा सुचारु गरेका स्थानीय तहले भाइरस सङ्क्रण हुन नदिन विविध कार्य गरेका छन् ।
जनप्रतिनिधिले अत्यावश्यक स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर, साबुन, बाल्टिन घरघरमा वितरण गरेका छन् भने कतिपयले क्वारेन्टाइन निर्माण तीव्र बनाएका छन् । सबै स्थानीय तहले दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन खाद्य र तरकारीका पसल निश्चित समयमा मात्र खोल्न माइकिङ गरेका छन् । सङ्कटका बेला कालोबजारी हुन नदिन नियमित अनुगमनसमेत गर्दै आएका छन् ।

राजधानीमा छर्किइयो औषधि
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सडक सरसफाइदेखि सडकमा कीटनाशक औषधि छर्ने कार्य अभियानका रूपमा सञ्चालन गरेको छ । धातुमा भाइरस किटाणु लामो समयसम्म जीवित रहने भएकाले महानगरले धातुले बनेको आकाशे पुल, सकड पेटीका रेलिङ, वाल राखिएका डन्डीमा कीटनाशक औषधि छर्कने काम गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको शङ्का लागेमा टोल फ्री नं. ११८० मा सम्पर्क गर्दा त्यस्ता व्यक्तिलाई महानगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

घरैमा बस्न माइकिङ : तारकेश्वर
तारकेश्वर नगरपालिकाले लकडाउन कार्यान्वयन गर्न कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सबै नगरवासीलाई घरैमा बस्न माइकिङ गरेको छ । सबै वडामा स्वास्थ्यकर्मीसहितको हेल्प डेस्क राखिएको, उक्त हेल्प डेस्कबाट पनि जनचेतनामूलक पर्चा, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गर्ने काम भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिनुभयो ।

उच्च निगरानी : सूर्यविनायक
सूर्यविनायक नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन विगत दुई हप्तादेखि विदेशबाट नगरपालिकामा फर्किएका नागरिकको उच्च निगरानी राखी छुट्टै क्वारेन्टाइनमा बस्न सर्वसाधारणमा आग्रह गरेको छ । सुक्खा खोकी, ज्वरो र शरीर दुख्नेजस्ता लक्षण देखिएमा तत्काल जनप्रतिनिधि र स्वास्थ्य संस्थासँग सम्पर्क राख्नुपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो ।

नियमित जनसम्पर्कमा : नागार्जुन
नागार्जुन नगरपालिकाकाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सबै उपाय अवलम्बन गरेको जनाएको छ । नगरपालिकाले नियमिति रूपमा साबुनपानीले हात धुन सर्वसाधारणलाई जानकारी गराएको, अन्य आवश्यकताअनुसार सर्वसाधारणलाई सूचना गराउने, नगरपालिका क्षेत्रमा विदेशबाट आएका व्यक्तिको तथ्याङ्क राख्ने र लकडाउन पूर्ण पालना गराउन सबै नगारिकलाई घरैमा बस्न आग्रह गरिएको नागार्जुन नगरपालिकाका योजना तथा प्रशासन उपशाखा प्रमुख नारायणप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

हटलाइन टिम गठन : गोकर्णेश्वर
गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणसम्बन्धी जिज्ञासा न्यूनीकरणका लागि नगरपालिकास्तरीय हटलाइन टोली गठन गरेको छ । विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोक्न र नगरवासीलाई सचेत गराउन हेल्थ कन्सर्नका लागि डा. सुवास प्याकुरेलको संयोजकत्वमा १० सदस्यीय चिकित्सकको रेस्पोन हटलाइन टिम गठन गरिएको नगरपालिका प्रमुख सन्तोष चालिसेले जानकारी दिनुभयो ।

जनप्रतिनिधिलाई सम्पर्क गर्नू : टोखा
टोखा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भई आपत्कालीन अवस्था आए जनप्रतिनिधिलाई खबर गर्न आग्रह गरेको छ । नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्न तयारी अवस्थामा राखिएको छ । सङ्क्रमण रोक्न घरैमा बसी लकडाउन पालना गर्ने नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

घरमै बस्नुहोस् ; नगरपालिका फोरम
यसैबीच उपत्यका नगरपालिका फोरम, काठमाडौँले कोरोना सङ्क्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गरेको छ । फोरम उपत्यकाभित्रका दुईवटा महानगरपालिकासहित १६ वटा नगरपालिकाको संस्था हो  ।
आधिकारिक सूचनामा मात्र विश्वास
उपत्यका नगरपालिका फोरम काठमाडौँका अध्यक्ष तथा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, फोरम उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र फोरम सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकावासीलाई कोरोनाको बारेमा आधिकारिक संस्थाहरू नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनका सूचनाहरूमा मात्रै विश्वास गर्न आग्रह गरिएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?