logo
२०८० चैत्र १५ बिहीवार



बालबालिकासँग बढाऔँ प्रगाढ सम्बन्ध

मुख्य समाचार |


बालबालिकासँग बढाऔँ प्रगाढ सम्बन्ध


यलु जोशी

काठमाडौँ, चैत १४ गते । कोरोना सङ्क्रमण (कोभिड–१९)को खतराका कारण सरकारले गरेको लकडाउनको समयमा बा(लबालिकालाई सुरक्षित तवरले घरमा राख्नुपर्ने विज्ञहरूले बताएका छन् ।
चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी भन्नुहुन्छ, “यस्तो समयमा मोबाइल वा इन्टरनेटमा समय बिताउनु बाध्यता हो । घरबाट बाहिर जान र साथीभाइसँग भेट्न नपाउने बेलामा यस्तो सामाजिक सञ्जाल, इन्टरनेटमा गेम खेल्नु स्वाभाविक हो ।” उहाँ बालबालिकासँग सम्बन्ध प्रगाढ बनाउन सुझाव दिनुहुन्छ ।
उहाँले मोबाइल चलाउँदा पनि सुरक्षित तरिकाले चलाउँदा आफू र समाजलाई फाइदा हुनुका साथै स्वास्थ्यलाई पनि असर नपर्ने जानकारी दिनुभयो । अरू बेला कार्यालय, विद्यालय जाने हतारो हुन्छ । त्यो बेला गर्न नपाएका धेरै काम हुन्छन्, जुन अहिले हामीले गर्न सकिने प्रस्ट पार्दै उहाँ थप्नुहुन्छ, “मोबाइल चलाउनु परेमा पनि बालबालिकालाई सँगै राखेर चलाउनुपर्छ । यसबाट बालबालिकाले के हेरिरहेका छन् भनी अभिभावकलाई थाहा हुन्छ ।” हामीले इन्टरनेटबाट सुविधा लिन सक्नुपर्ने र त्यसलाई नशा बनाउन नहुने सुझाव दिँदै उहाँले भन्नुभयो, “मोबाइल चलाउने पनि समय निश्चित बनाउनुपर्छ ।” अभिभावक र बालबालिका सँगै बस्ने समय मिलेकाले बालबालिकालाई धेरैभन्दा धेरै कुरा सिकाउन सकिने उहाँको सुझाव छ ।
पूर्वबाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गर्नुभएका प्राडा निर्मला उप्रेती भन्नुहुन्छ, “यो मौका भनेको आमाबुवा र बा(लबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय हो ।” बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो उनीहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत भएको उहाँ बताउनुहुन्छ ।
आफ्नो घरछेउ सानो कोठामा घर भाडामा बस्ने सानो परिवारको उदाहरण दिँदै प्राडा उप्रेतीले भन्नुभयो, “आमा, बुवा र छोरा मात्रको सानो परिवारमा विभिन्न फङ्सन भएको मोबाइल पनि छैन । मैले चित्र कोर्ने किताब र एउटा बाजा दिएको थिएँ । त्यो परिवार त्यसैमा धेरै खुसी भएर दिनभरि रमायो ।” यो देख्दा खुसी आफूले खोज्ने हो, त्यो जे कुरामा पनि पाउन सकिन्छ भन्ने बुझिएको उहाँले बताउनुभयो ।
लकडाउनको समयमा घरका काम सिकाउनुका साथै बारी वा गमलामा फूलहरूको नाम सिकाउन सकिन्छ र कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने जानकारी उहाँले दिनुभयो ।

घरभित्रै कसरी राख्ने ?
हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारिम बोर्ड, पजलजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्राडा उप्रेतीले जानकारी दिनुभयो । यता रघुवंशी पनि इन्टरनेट चलाइसकेपछि बालबालिकालाई सिर्जनशील बनाउन उनीहरूको रुचि र क्षमताअनुसारका चित्र बनाउने, वाद्यवादन, सङ्गीत सुन्ने, गाउनेजस्ता रमाइला क्रियाकलाप पनि घरभित्र गर्न दिनुपर्ने सुझाव दिनुहुन्छ ।
अभिभावकले फुर्सदको समयमा बालबालिकाका साथमा प्रेरणामूलक फिल्म हेर्ने, कथा–उपन्यास सुनाउने आदि गर्नुपर्छ । साथै उमेर अनुसारका विभिन्न क्रियाकलाप गर्न उनीहरूलाई प्रेरित गर्न सकिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?