logo
२०८१ बैशाख १३ बिहीवार



नेपालगञ्जमा कोरोना परिक्षण गर्ने किट नहुँदा समस्या

समाज |


नेपालगञ्जमा कोरोना परिक्षण गर्ने किट नहुँदा समस्या


सिराज खान 
नेपालगञ्ज, चैत १३ गते । कोरोना भाइरसबाट सचेत रहन तथा जोगिनका लागि विभिन्न तयारीहरु तिव्र रुपमा भैरहेकै बेला गत तीनदिनदेखि नेपालगञ्जमा कोरोना परिक्षण गर्ने किट सकिएकोले समस्या भएको छ ।
बाँके बर्दिया लगायत पश्चिम नेपालका विभिन्न जिल्लाका कोरोना सङक्रमण आशङ्का गरिएका व्यक्तिहरुको रगत संकलन गरेर पठाउने सुविधा यहाँस्थित भेरी अस्पतलमा मात्र रहेको छ ।
तर, सोही अस्पतालमा गत तीनदिनदेखि रगत संकलन गरेर काठमाण्डौ पठाउने किट नहुँदा निकै समस्या भएको अस्पतालले जनाएको छ ।

बाँके, बर्दिया लगायत विभिन्न जिल्लाका धेरैजना शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएपनि किटको अभावले गर्दा उनिहरुको रगत संकलन गरेर पठाउन नसक्दा अवस्था अन्यौलपूर्ण रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले बताउनु भयो ।

उहाँले केन्द्रबाट किट माग गरिएकोमा केन्द्रले पठाएको किटहरु लकडाउनले उडान स्थगित हुँदा काठमाण्डौ विमानस्थलमा रोकिएको बताउनु भयो ।
अस्पताल प्रमुख डा. थापाले कोरोना परिक्षणलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै हेलिकोप्टरको व्यवस्था गरेर भएपनि देशभरिनै रगत संकलन गर्ने सुविधा भएका ठाउँमा किट पुरयाउनु पर्ने र रगत नमुनालाई परिक्षणका लागि राजधानी पर्याउनु पर्ने माग गर्नु भयो ।

‘किट भएको भएपनि उडानहरु नहुँदा काठमाण्डौ पठाउन समस्या हुन्थ्यो, तसर्थ किट उपलब्ध गराउनुका साथै परिक्षणको व्यवस्था पनि तत्काल मिलाउनु पर्छ ।’–उहाँले भन्नुभयो ।
नेपालगञ्जमै परिक्षण प्रयोगशाला स्थापना गर्ने भनि सरकारले गरेको निर्णय बारे अस्पताल प्रमुख डा. थापासंग जानकारी माग्दा उहाँले सो कुरा आफूले पनि मिडियामार्फत सुनेको तर हालसम्म कुनै लिखित जानकारी नआएको बताउनु भयो ।

‘नेपालगञ्जमा प्रयोगशाला स्थापना गर्नु राम्रो निर्णय हो तर त्यसमा रत्तीभरपनि ढिलाइ गर्नु हुँदैन, तत्काल स्थापना गर्नुपर्छ ।’–डा. थापाले भन्नुभयो ।
हालसम्म नेपालगञ्जबाट ७ जनाको रगत नमूना परिक्षणका लागि काठमाण्डौ पठाईएकोमा सबैको रिपोर्ट निगेटिभ आएको उहाँले बताउनु भयो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका फिजिशियन डा. आसिम किदवाईले पनि तत्काल किटर परिक्षणको व्यवस्था नगरिए अवस्था गम्भीर हुनसक्ने चेतावनी दिनुभएको छ ।

परिक्षण किट पठाउनका लागि केन्द्रमा निरन्तर जानकारी गराउने कार्य भैरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।  यसैगरि बाँकेका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक लगायत स्वास्थ्यकर्मीहरुका लागि पीपीई र अन्य सुरक्षा उपकरणको निकै अभाव रहेको पनि अस्पतालहरुले जनाएका छन् ।
उता, नेपालगञ्जको लायन्स डेन्टल हस्पिटल र खजुराको सुशिल कोइराला क्यान्सर हस्पिटललाई आईसियुसहितको आइसोलेसन हस्पिटलमा रुपान्तरण गरिएको छ भने विभिन्न स्थानमा क्यारेन्टाइन निर्माणको काम भैरहेको कोरोना बिरुद्धको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?