logo
२०८१ बैशाख ६ बिहीवार



कोराना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो

समाज |


कोराना कहर : सहकारीले उत्पादन गर्ने दूध ढुवानी रोकियो


बलेवा, चैत १३ गते । कोरोना भाइरस (कोभिड–१९)को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार ५०० लिटर दूध किसानकै घरमा रोकिएको हो । नेपाल सरकारले देशनै लकडाउनको घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो ।

सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । अमलाचौरको कालीगण्डकी, नवनमुना, बानपा–१४ को नारायणस्थान, जैमिनी नगरपालिकाको पल्लोपाखा र जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले उक्त दूध उत्पादन गर्दै आएका थिए ।

“कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि सवारी चालकहरु पनि डराए”, शर्माले भन्नुभयो, “हामीले पनि गर्नैपर्छ भन्न सकेनौँ ।” त्रास कम हुने समयसम्म किसानलाई घरमै खुवा (कुराउनी), पनिरलगायतका सामग्री उत्पादन गर्न भनेको उहाँले बताउनुभयो । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताएका छन् ।

पल्लोपाखा, नवनमुना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो । दूध रोकिएसँगै किसानले दाना चापटको प्रबन्ध गर्नसमेत कठिन हुने बताएका छन् । “दूध बिक्री हुन्थ्यो र पो दाना खुवाउन सकिन्थ्यो”, किसान क्षमकला शर्माले भन्नुभयो, “दूध नबिक्दा न दाना किन्ने स्रोत हुन्छ, न दाना ल्याउने सवारीनै चलेका छन् ।”

व्यावसायिकरूपमा दूधको उत्पादन थालेका किसानलाई ऋणको किस्ता तिर्नसमेत कठिन हुने उनीहरुको गुनासो छ । “ऋण खोजी गाई किनेर पालिएको छ, दूध बिके किस्ता तिर्ने स्रोत बन्छ”, अर्का किसान हेमराज शर्मा भन्नुहुन्छ, “गाईभैँसीलाई खुवाएको दूधबाट के प्रतिफलको आश गर्नु ।” अत्यावश्यक वस्तु भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गरेर दूध ढुवानी रोक्न नहुने उहाँको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?