logo
२०८१ बैशाख ८ शनिवार



विदेशबाट आउने सबैजना प्रशासनको निगरानीमा

राष्ट्रिय |


विदेशबाट आउने सबैजना प्रशासनको निगरानीमा


गण्डकी समाचारदाता

बागलुङ, चैत १३ गते । विदेशबाट आएका दुई जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गण्डकी प्रदेशका स्थानीय प्रशासनले विदेशबाट आएकाहरूलाई निगरानी बढाउन सुरु गरेका छन् ।
केही दिनअगाडि कतार एयरवेजको विमानमार्फत नेपाल फर्किएकी एक युवती र बुधबार दुबईबाट आएका एक युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विदेशबाट नेपाल आएकाहरूको खोजी सुरु गरिएको हो । कोरोना भाइरसको प्रकोप सुरु भएपछि विभिन्न देशबाट नेपाल आएकाहरूको लगत सङ्कलन स्थानीय तहहरूको सहयोगमा सुरु गरिएको बताइएको छ । उनीहरूलाई घरमै सुरक्षित रूपमा बस्न आग्रह गरिएको स्थानीय प्रशासनले जनाएका छन् ।
विमानबाट आउँदा सङ्क्रमण सरेको हुन सक्ने भएकाले विदेशबाट आएकाहरूलाई सुरक्षित रूपमा छुट्टै बस्न भनिएको र कुनै स्वास्थ्य समस्या आएपछि स्वास्थ्य उपचारका लागि अस्पताल आउन आग्रह गरिएको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका जनस्वास्थ्य निर्देशक विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार गण्डकी प्रदेशमा सङ्क्रमण फैलिन नदिन र सङ्क्रमण फैलियो भने गर्नुपर्ने सबै उपायको तयारी भइरहेको जानकारी दिँदै विदेशबाट आएकाहरूको लगत सङ्कलनका लागि स्थानीय तहलाई जिम्मा दिइएको छ । त्यस्तै प्रदेशसरकारद्वारा उपचारको व्यवस्थासँगै आवश्यक उपकरण, औषधि, विशेष अस्पताल, स्वास्थ्यकर्मीलाई तालिम, आइसुलेसन वार्ड निर्माण गरिरहेको छ ।
बुधबार बिहानसम्म गण्डकी प्रदेशभरबाट १४ वटा नमुना परीक्षणका लागि पठाइएकोमा १० वटाको रिपोर्ट नेगेटिभ आएको र अरू तीन जनाको बिहीबारसम्म रिपोर्ट आउने शर्माले बताउनुभयो । देशभर गरिएको लकडाउनले एकअर्कामा सङ्क्रमण सर्ने सम्भावना न्यून भएकाले त्यसलाई पूर्ण पालना गर्न अनुरोध गरिएको बताउनुभयो । केही दिनअगाडि कोरोना सङ्क्रमण भएको पुष्टि भएकी फ्रान्सबाट आएकी युवती चढेकै विमानमा बेल्जियमबाट आएकी बाग्लुङकी एक युवतीको नमुना परीक्षणका लागि पठाइएको छ ।
केही दिनदेखि रुघाखोकी, ज्वरो आएपछि उनको नमुना सङ्कलन गरी पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त विमानमा उनीसँगै अन्य चार जनासमेत आएकाले उनीहरूलाई निगरानीमा राखिएको तर उनीहरूको स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले घरमै सुरक्षित रूपमा बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
यस्तै पर्वतमा ३० जनाभन्दा बढी विदेशबाट आएकाहरू सम्पर्कमा आएका छन् । पर्वतमा हेलो डाक्टर सेवा सुरु गरिएकाले विदेशबाट आएका वा केही लक्षण देखिनेहरूलाई नियमित रूपमा सम्पर्कमा आउन भनिएको पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । प्रजिअ नेपालका अनुसार स्थानीय तहलाई लगत सङ्कलन गरेर सम्भावित व्यक्तिहरूलाई गोप्य रूपमा आफ्नै घरमा सुरक्षित रूपमा बस्न भनिएको छ ।
विदेशबाट आएका प्रशासनको सम्पर्कमा
यसैबीच गोरखा समाचारदाताका अनुसार जिल्लामा विदेशबाट फर्किएका १६ जना स्थानीय प्रशासनको सम्पर्कमा आएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन जनामध्ये तीनै जना विदेशबाट आएका भएकाले उनीहरूलाई होम क्वारेन्टाइनमै बस्न अनुरोध गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
यस्तै नेपालमा लकडाउन भइसकेपछि पनि हिमाल आरोहणका लागि हिमाली क्षेत्रमा पुगेका विदेशीहरूलाई समेत फिर्ता बोलाइएको प्रजिअ पौडेलले बताउनुभयो । पौडेलका अनुसार मङ्गलबार दुई जना र बुधबार पनि दुई जनालाई हिमाली क्षेत्रबाट गोरखा ल्याई काठमाडौँ पठाउने तयारी गरिएको छ ।

सङ्क्रमणको आशङ्कामा १२६ जना सेल्फ क्वारेन्टाइनमा
यसैबीच स्याङ्जा समाचारदाताका अनुसार कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा १२६ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट नेपाल फर्केकाहरू स्थानीय तहले निर्माण गरेको सेल्फ क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयका प्रमुख यमप्रसाद शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार अर्जुनचौपारीमा भारतबाट आएका छ जना र एक जना कतारबाट आएका गरी सात जना, फेदीखोलामा भारतबाट आएका तीन जना र कतारबाट आएका एक जना गरी चार जना आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।
त्यस्तै पुतलीबजारमा दुई जना, गल्याङमा ७७ जना, वालिङ नगरपालिकामा २२ जना, कालीगण्डकीमा छ जना, आँधीखोलामा पाँच जना, बिरुवामा दुई जना, चापाकोटमा दुई जना आआफ्नै घरमा क्वारेन्टाइनमा रहेको शर्माले जानाकारी दिनुभयो ।
विदेशमा कोरोनाको सङ्क्रमण भएर आएको शङ्काका आधारमा क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । पहिलो चरणमा क्वारेन्टाइनमा राख्ने र कोरोनाको शङ्कास्पद लक्षण देखा परेमा इमर्जेन्सी हेल्थ सेन्टरमा डा. राजीव लेक्चनलाई समन्वय गरी स्वाब परीक्षणका लागि टेकु पठाउने पनि उहाँले बताउनुभयो ।
कतार एयरवेजमा चैत ४ गते फ्रान्सबाट आएकी युवतीसँगै आएका स्याङ्जाका छ जनामध्ये तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । छ जनामध्ये एक जना फेदीखोला, एक जना भीरकोट र एक जना पुतलीबजारमा प्रहरी, प्रशासन र पालिकाको सक्रियता भेटिएको हो । अन्य तीन जनामध्ये दुई जना पोखरा बसेको र एक जना रुपन्देहीमा रहेको र थप खोजी कार्यलाई तीव्र पारिएको प्रहरी प्रमुख एसपी विमलराज कर्णेलले जानाकारी दिनुभयो ।

सुविधासम्पन्न क्वारेन्टाइन निर्माण
यसैबीच कास्की समाचारदाताका अनुसार कास्कीको रुपा गाउँपालिकाले २० शøयाको सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको छ । गाउँपालिकाले आफ्नो इलाकाभित्रका वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई कम्तीमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । जसमा विदेशबाट फर्किएका आफ्ना नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गराउने र सङ्क्रमित भइहालेमा थप सङ्क्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्री वाईफाई, शुद्ध पिउने पानी र टेलिभिजन जडान गरिएको छ भने खानपान र औषधि उपचारको व्यवस्था पनि गाउँपालिका
आफैँले गर्नेछ । हामीले रुपाको देउरालीमा २० सिट क्षमताको क्वारेन्टाइन निर्माण गरेका छौँ, वैदेशिक रोजगारीबाट फर्किएका गाउँपालिकावासी नागरिकलाई १४ दिनसम्म अनिवार्य राख्छौँ । यसको सम्पूर्ण खर्च गाउँपालिका आफैँले गर्छ, जसमा कोरोना नभएको पुष्टि भएसँगै उहाँहरूलाई घर पठाउँछौँ, अध्यक्ष ओझाले भन्नुभयो ।
रुपा गाउँपालिका–५, देउरालीमा रहेको विश्वशान्ति माध्यमिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्न पहिलो दिनमै १३ जना गाउँपालिकावासी आइपुगेका छन् । उनीहरू वैदेशिक रोजगारीको सिलसिलामा भारत, साउदी, दुबई, मलेसिया, कतार लगायतका देशबाट फर्किएका नागरिक रहेको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
अध्यक्ष ओझाका अनुसार गाउँपालिकामा रहेका पाँचवटै स्वास्थ्यचौकी अब २४सै घण्टा खुला हुनेछन् । जहाँ पर्याप्त मात्रामा औषधि राखिएका छन् । त्यस्तै गाउँवासीलाई निःशुल्क रूपमा स्वास्थ्यचौकी आउन र थप उपचारका लागि अन्य अस्पताल लानुपर्ने भएमा पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यात्रुसहितको ट्रक फिर्ता
यसैबीच म्याग्दी समाचारदाताका अनुसारनिषेधाज्ञाको समयमा मुस्ताङको जोमसोमबाट १० जना मजदुरलाई लिएर आएको लु. १ ख ८०११ नम्बरको ट्रकलाई प्रहरीले मुस्ताङमा नै फिर्ता पठाएको छ । अत्यावश्यक सामग्रीसहित मालवाहक सवारी साधन चल्न पाइने भए पनि यात्रुसहित आएका कारणले प्रहरीलाई अनुरोध गरेरै मुस्ताङतर्फ नै फिर्ता पठाइएको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले बताउनुभयो ।
जोमसोमबाट रातको समयमा हिँडेर बिहान ७ बजे बेनी बजारको कालीपुल आइपुगेको उक्त ट्रकमा भारतीय मजदुर थिए । मुस्ताङमा काम गर्दै गरेका ती मजदुर लकडाउन भएपछि कुनै पनि माध्यमबाट आफ्नो देश फर्कनका लागि ट्रकमा चढेर आएको बताइएको छ । बुधबार बिहानैदेखि यहाँ कुनै पनि सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन चलेका छैनन् ।

भारतबाट आएका दुई जना क्वारेन्टाइनमा
यसैबीच नवलपरासी समाचारदाताका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको सूर्यकिरण प्राथमिक विद्यालयमा भारतबाट आएका दुई जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । चार दिनअगाडि भारतबाट घर आएका दुई जनालाई वडा कार्यालयको निगरानीमा राखिएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताउनुभयो ।
देवचुली नगरपालिका–१७ रजहरमा जापानबाट आएका दुई जना र अन्य एक जना गरी तीन जना आफ्नै घरको एकान्त कोठामा क्वारेन्टाइनमा बसेको तिवारीले जानकारी दिनुभयो । यसैगरी भारतबाट आएका पाँच जना कामदारलाई देवचुली नगरपालिका–१२ को क्वारेन्टाइनमा राखिएको उपप्रमुख तिवारीले बताउनुभयो । यसैबीच कोरोना सङ्क्रमणको उपचारमा खटिने चिकित्सकले अनिवार्य लगाउनुपर्ने पाँच थान पीपीई चौधरी फाउन्डेसनले हस्तान्तरण गरेको छ । फाउन्डेसनका प्रतिनिधि रामकाजी सिटौलालले पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई कोरोना भाइरस सङ्क्रमणको उपचारमा खटिने चिकित्सकले लगाउनैपर्ने पीपीई (प्रसोनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गर्नुभएको हो । प्रसोनल प्रोटेक्टिभ इक्विपमेन्टले उपचारमा खटिने चिकित्सकको मनोबल बढ्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?