logo
२०८० चैत्र १६ शुक्रवार



देशभरिका सिनेमा हल बन्द

मनोरञ्जन |


देशभरिका सिनेमा हल बन्द


यलु जोशी

काठमाडौंँ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिम रहेका कारण नेपालमा चलचित्र घर (सिनेमा हल) बन्द भएपछि सबै चलचित्र उद्योगले धेरै नोक्सानी बेहोर्नुपरेको छ ।
वि. सं. २०७६ साल नेपाली चलचित्र उद्योगलाई राम्रो भएनभन्दा फरक पर्दैन । वर्षभरि चारदेखि पाँच वटासम्म मात्र चर्चित भए पनि बाँकी चलचित्रले बक्स अफिसमा प्रभुत्व जमाउन सकेनन् । हालै चलचित्र आमा र सेन्टी भाइरसले दर्शकको मन जितिराख्दा कोरोनाको सङ्क्रमणको डरले यो पनि राम्रो हुन सकेन । देशभरका १४१ हल बन्द भएका छन् । हल मात्र बन्द भएका छैनन्, दर्जनौँ चलचित्र प्रभावित बनेका छन् ।
नेपाली चलचित्र क्षेत्र २०५८ देखि ६० को बीचमा सङ्कटपूर्ण अवस्थाबाट गुज्रेको थियो । त्यसपछि बिस्तारै उठेको चलचित्र २०७२ सालको महाभूकम्प र लगत्तैको बाढीका कारण पुनः फिल्म क्षेत्र सुस्ताएको थियो । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण नेपालको फिल्म क्षेत्र अन्योलमा परेको छ । यसले नेपाली फिल्म क्षेत्रलाई कम्तीमा एक वर्ष पछाडि धकेलिने निश्चित रहेको निर्माता नीर शाहले जानकारी दिनुभयो ।
उहाँले चलचित्र क्षेत्रसँगै फिल्मबाट आश्रित हुने कलाकार तथा प्राविधिक र हल सञ्चालक तथा कर्मचारीको दैनिकीसमेत कठिन हुने प्रस्ट पार्नुभयो । नेपालमा राम्रो व्यापार भएको खण्डमा दैनिक फिल्म क्षेत्रले तीन करोड रुपियाँभन्दा बढीको व्यापार गर्ने गरेको छ । सरकारले झन्डै ४५ दिन हल बन्द गर्न निर्देशन दिइसकेको छ । यसबाट नेपाली फिल्म क्षेत्रले करोडभन्दा बढीको घाटा बेहोर्नुपर्ने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । यसको प्रत्यक्ष प्रभाव निर्माता र हल सञ्चालकमा पर्ने बताउँदै उहाँले अप्रत्यक्ष रूपमा भने वितरक, चलचित्रकर्मी, कलाकार, प्राविधिक र समग्र देशको अर्थतन्त्रमा समेत असर पर्ने बताउनुभयो ।
क्यूएफएक्स हल सञ्चालक भाष्कर ढुङ्गानाले सरकारको निर्णयको कदर गर्दै हल बन्द भएपछि आयमा ठूलो असर पर्ने निश्चित छ तर जीवन भए बिस्तारै कमाउन सकिन्छ भन्नुभयो । आमजनताको स्वास्थ्यप्रति देखाइएको यो चासो सराहनीय भएको उहाँले बताउनुभयो ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । साथै सरकारले फिल्मसँगै खेल स्थल, जिम, डान्सबार तथा क्लब लगायत बन्द गर्ने निर्णय पनि गरेको छ । सरकारले वैशाख १८ गते सम्मका लागि फिल्म हल बन्द गर्न निर्देशन दिएको हो । विश्वका एक लाख ३७ हजारभन्दा बढी फिल्म हल बन्द भएका छन् । चीनको वुहानबाट सुरु भएको यो महामारी अहिले विश्वभर फैलिएको छ । सुरुमा वुहानका सबै फिल्म हल बन्द गरिएका थिए । त्यसपछि चीन र हङ्कङका हल बन्द गरिएका थिए । दक्षिण कोरिया, जापान, इटाली, अमेरिकाका विभिन्न प्रान्तका हल अनिश्चितकालीन बन्द भइरहँदा यसको प्रभाव नेपाल र भारतमा पनि परेको छ ।
चलचित्र छायाङ्कनमा रोक
यता निर्माता सङ्घले विज्ञप्ति नै जारी गरेर चलचित्र छायाङ्कनसमेत स्थगित गर्न अनुरोध गरेपछि ए मेरो हजुर ४, २ नम्बरी, तीन जन्तु, विच्छेद लगायतका फिल्मको छायाङ्कनमा रोक लागेको छ ।
चलचित्र निर्माता सङ्घका महासचिव रोज राणा भन्नुहुन्छ, संयमता अपनाऔँ, स्वास्थ्य नै ठूलो कुरा हो । स्वास्थ्य रहे मात्रै चलचित्र क्षेत्र रहन्छ ।
प्रदर्शन मिति अन्योल
नेपाली चलचित्र लगायत हलिउड र बलिउडका चलचित्रको प्रदर्शन मिति सरिरहेका छन् । फागुन ३० बाट नेपालभर प्रदर्शन हुने चलचित्र ‘म यस्तो गीत गाउँछु–’ ले पनि मिति सारिसकेको छ । यस्तै नीरफूलको पनि प्रदर्शनी मिति सारिएको निर्माण पक्षले जनाएको छ ।
सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरी सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आह्वान गरिरहेका बेला फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको निर्माण पक्षले जनाएको छ । सञ्चारकर्मी तथा कवि फूलमान वलको निर्देशन रहेको चलचित्र ‘नीरफूल’ले स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताएको छ । रिलिजको सँघारमा रहेको चलचित्र र पोस्ट प्रोडक्सनमा रहेका दुई दर्जन फिल्म प्रभावित बनेका हुन् ।
विश्वभरका हलिउड र बलिउड फिल्मले रिलिज मिति स्थगित गरेका छन् ।
त्यस्तै चैत ७ गतेको बद्रिबहादुर र नीरफूल, चैत १४ को सुस्केरा, चैत २१ को लक्का जवान, चैत २८ को माइकल अधिकारी, प्रेम गीत–३ र चपली हाइट–३, वैशाख १२ को लप्पन छप्पन, वैशाख १९ को षड्कोण, वैशाख २६ को आकाशे खेती लगायतका दर्जनौँ फिल्मको रिलिज मिति अन्योल बनेको छ ।
यसले गर्दा २०७७ सालका सबै रिलिज क्यालेन्डर अन्योल हुने निश्चित छ । यसको प्रभाव निर्मातामा मात्र पर्ने छैन, यसले फिल्म हल र वितरण कम्पनीदेखि फिल्म क्षेत्रलाई नै समग्र प्रभाव पार्ने देखिन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?