logo
२०८१ बैशाख १३ बिहीवार



गौरवका आयोजनाको प्राविधिक परीक्षण

राष्ट्रिय |


गौरवका आयोजनाको प्राविधिक परीक्षण


भउचप्रसाद यादव

काठमाडौँ, फागुन १७ गते । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय गौरव लगायतका आयोजनाको प्राविधिक परीक्षण (टेक्निकल अडिट) सुरु गरेको छ । सरकारबाट सञ्चालित राष्ट्रिय गौरव लगायतका आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको तथा कतिपय आयोजना गुणस्तरहीन भएको भन्दै प्राविधिक परीक्षण थालेको केन्द्रले स्पष्ट पारेको छ ।
केन्द्रका सचिव डा. ऋषिराम शर्माले सरकारबाट सञ्चालित राष्ट्रिय गौरव लगायतका आयोजनाको निर्माण कार्य गुणस्तरयुक्त, समयमै सम्पन्न होस् भन्ने उद्देश्यसहित राष्ट्रिय सतर्कता केन्द्रले चालू आर्थिक वर्षमा २५ वटा आयोजनाको प्राविधिक परीक्षण गरिरहेको जानकारी दिनुभयो । राष्ट्रिय गौरवका १७ र अन्य आठ गरी कुल २५ वटा आयोजनाको प्राविधिक परीक्षण सुरु गरिएको हो ।
केन्द्रका सचिव शर्माले अहिले २५ वटा आयोजनाको प्राविधिक परीक्षण सुरु गरिएको छ । चालू आर्थिक वर्षमा नै आयोजना थप्न सकिन्छ । प्राविधिक परीक्षणका लागि प्राविधिक ‘फिल्ड’मा गई कामसमेत सुरु गरिसकेका छन् । हरेक आयोजनाका
लागि एक÷एक जना प्राविधिक परीक्षक वा फर्म चयन गरिएको छ भन्नुभयो ।
कतिपय अवस्थामा सम्पन भइसकेका, निर्माणको अन्तिम चरणमा रहेका, ‘प्लानिङ फेज’ मा रहेका, निर्माणको चरणमा रहेका आयोजनाको प्राविधिक परीक्षण गरिने भए पनि त्रुटि भेटिएको अवस्थामा सच्याउन सजिलो होस् भन्ने उद्देश्यले प्रायः निर्माणाधीन अवस्थामा नै परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।
परीक्षणका क्रममा गम्भीर प्रकृतिका त्रुटि भेटिएको अवस्थामा थप छानबिन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बन्धित निकायमा पठाइने बताउँदै उहाँले सुधार गर्ने खालका त्रुटि देखिएकामा सम्बन्धित मन्त्रालय, विभाग र आयोजनामा पठाइने जानकारी दिनुभयो ।
सच्याउन सकिने प्रकृतिका त्रृटि भेटिएको अवस्थामा परीक्षणका क्रममा नै सम्बन्धित आयोजना प्रमुखबाट ‘कति दिनमा तत्तत् त्रुटि सच्याउन सकिन्छ भन्ने प्रतिबद्धता सहितको कबुलियत गराइसकिएको हुन्छ । यस्तो अवस्थामा सम्बन्धित आयोजनाले प्रतिबद्धता अनुसारको त्रुटि नसच्याएसम्म केन्द्रले नै त्यसको अनुगमन गर्ने गर्दछ ।
प्राविधिक परीक्षणका क्रममा आयोजनाको ठेक्कापट्टाको प्रक्रियादेखि लिएर निर्धारित समयमा काम भए नभएको, भुक्तानीको सम्बन्धमा, गुणस्तरका लागि ‘ल्याब टेस्ट’ गरिएको छ÷छैन, निर्माण सामग्रीको गुणस्तर लगायतको परीक्षण गर्ने गरिन्छ ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर चिरञ्जीवी झाका अनुसार काठमाडौँ÷तराई÷मधेस द्रुतमार्ग, मध्य पहाडी राजमार्ग
(पाँचथर खण्ड), मध्य पहाडी राजमार्ग (मकवानपुर खण्ड), उत्तर–दक्षिण कालीगण्डकी करिडोर, उत्तर–दक्षिण कोसी करिडोर, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग (सती–भजनी–धनगढी खण्ड), हुलाकी राजमार्ग (बाँके–सङ्ग्रामपुर खण्ड), उत्तर–दक्षिण कर्णाली राजमार्गको प्राविधिक परीक्षण सुरु
गरिएको छ ।
त्यसैगरी राष्ट्रिय गौरवका आयोजनामध्ये सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी क्षेत्र विकास कोषको प्राविधिक
परीक्षण सुरु गरिएको जानकारी केन्द्रका सीडीई झाले जानकारी दिनुभयो । राष्ट्रिय गौरवका आयोजना बाहेक सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभागद्वारा सञ्चालित आयोजना, निर्माणाधीन हेटौँडा अस्पताल, सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेज, मलङ्गवा सर्लाही, बञ्चरेडाँडा ल्यान्डसाइड, राजापुर ३३ केभी सबस्टेसन, बर्दिया, कमला नदी नियन्त्रण कार्य र नेपाल टेलिकम फोरजी एलईटी कोर जावलाखेलको केन्द्रद्वारा प्राविधिक परीक्षण भइरहेको जानकारी उहाँले दिनुभयो ।
सरकारले आर्थिक वर्ष २०६८÷६९ देखि प्रथम प्राथमिकतामा १७ वटा र आर्थिक वर्ष २०७०÷७१ को बजेट वक्तव्य मार्फत अरू चारसमेत थप गरी २१ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गरेको थियो ।
सीडीई झाका अनुसार प्राविधिक परीक्षण गर्न केन्द्रले आयोजनाका सम्बन्धित मन्त्रालयबाट विवरण मगाएको विवरणका आधारमा आयोजनाको छनोट गरेर प्राविधिक परीक्षण गर्न लागिएको हो ।
परीक्षणका लागि मन्त्रालयले धेरै आयोजनाको सूची पठाए पनि केन्द्रले २५ वटा आयोजनाको छनोट गरेको हो ।
परीक्षणको काम सम्पन्न भइसकेपछि अख्तियार दुरुपयोग अनुुसन्धान आयोग, महालेखा परीक्षक लगायत सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा प्राविधिक परीक्षणको प्रतिवेदन प्रस्तुत गर्ने गरिन्छ । प्रतिवेदनमा परीक्षकले आयोजनाको प्रगति राम्रो÷अति राम्रो÷ठीक ठीकै छ भनेर स्पष्ट किटान गर्नुपर्छ । एउटा आयोजनाको प्राविधिक परीक्षण तथा त्यसको सम्पूर्ण प्रक्रिया पूरा गर्न बढीमा दुईदेखि तीन महिना लाग्ने गर्दछ ।
यसअघि बबई पुलको प्राविधिक परीक्षणका क्रममा भेटिएको त्रुटिकै आधारमा थप छानबिन र काम कारबाहीका लागि सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । त्यसैगरी तीन वर्षअघि सतर्कता केन्द्रले गरेको प्राविधिक परीक्षणमा सिक्टा नहर आयोजना क्षेत्रको माटो घुलनशील रहेको र त्यसकै कारण नहर भत्किन पुगेको प्रतिवेदन बुझाएको थियो । चालू आर्थिक वर्ष २०६५÷६६ देखि राष्ट्रिय सतर्कता केन्द्रले
सरकारबाट सञ्चालित विभिन्न आयोजनाको प्राविधिक परीक्षण गर्दै आएको छ ।
सरकारद्वारा सञ्चालित रु. ५० करोडभन्दा माथिका आयोजनाको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रले गर्ने गर्दछ । ५० करोडभन्दा तलका आयोजनाको समेत प्राविधिक परीक्षण केन्द्रले गर्नुपर्छ भने माग केन्द्रले सरकार समक्ष गर्दै आएको छ । राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावली, २०६५ ले प्राविधिक परीक्षण गर्ने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको छ । यसै नियमावलीका आधारमा केन्द्रले परीक्षणको काम गर्दै
आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?