logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै

खुला |


कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै


सरोज ढुङ्गेल

काठमाडौंँ, फागुन १७ गते । विश्वमै कोरोना भाइरस (कोभिड–१९)ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूएचओले देशको स्वास्थ्य प्रणाली हेरेर जोखिम, उच्च जोखिम र अति उच्च जोखिममा राखेको बताउनुभयो । हाम्रो देशमा कोरोना भाइरसबाट हाल सङ्क्रमित कोही छैनन् तर डब्लूएचओले अति उच्च जोखिममा राखेको छ । यसअघि चीनबाट आएका एक नेपालीलाई कोरोना भाइरस भए पनि उपचार भइसकेको छ ।
महानिर्देशक श्रेष्ठले जापान, दक्षिण कोरिया लगायतका देशमा सयौँ व्यक्तिलाई सङ्क्रमण देखिएको छ तर ती देशलाई उच्च जोखिममा मात्र राखिएको छ भन्नुभयो । डब्लूएचओले नेपालको स्वास्थ्य प्रणाली अस्तव्यस्त भएका कारणले अति उच्च जोखिममा राखेको जानकारी पनि दिनुभयो । महानिर्देशक श्रेष्ठले नेपालसहित श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता देशलाई पनि अति उच्च जोखिममा राखेको जानकारी दिनुभयो । डब्लूएचओले अफ्रिकी मुलुकका अधिकांश देशलाई अति उच्च जोखिममा राखेको छ ।
चीनमा घट्दो क्रममा रहेको कोरोना विश्वका विभिन्न मुलुकमा भने बढ्दो रूपमा छ । नेपालमा कोरोना भाइरस छिरेको अवस्थामा यसले भयावह रूप लिने भएकाले डब्लूएचओले अति उच्च जोखिममा राखेको उहाँको तर्क छ ।
स्वास्थ्य सेवा विभागका माहानिर्देशक श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक पूर्व तयारी तीव्र बनाएको जानकारी दिनुभयो । उहाँले विभाग, महाशाखाले सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरी कोरोना भाइरसविरुद्ध सचेतनामा लागिरहेको जानकारी पनि दिनुभयो । महानिर्देशक श्रेष्ठले कोरोना फैलन नदिन थप उच्च सतर्कता अपनाएर काम गरिरहेको जानकारी पनि दिनुभयो ।
कोरोनाको प्रकोप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप परीक्षण मजबुत बनाइएको छ । हेल्थ डेस्कका डा. प्रदीप यादवले दैनिक पाँच सयदेखि सात सय जनाको स्क्रिनिङ गर्ने गरेको जानकारी दिनुभयो । उहाँले हाल १२ स्वास्थ्यकर्मी स्क्रिनिङमा खटिएको जानकारी दिँदै थप १० स्वास्थ्यकर्मीको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
विमानस्थलमा आउने यात्रुलाई थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट यात्रुको ज्वरो लिने काम गरिएको छ । हेल्थ डेस्कमा चीन, जापान, कोरिया, थाइल्यान्ड, हङ्कङ लगायतका देशबाट आएका यात्रुको ज्वरो नाप्ने काम हँुदै आएको छ ।
घाँटीको ¥याल परीक्षण गरिने
यसैबीच चीनको बुहानबाट सरकारले उद्धार गरेर ल्याएका नेपालीको शनिबार १४ दिन पुग्दैछ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने भए पनि उनीहरूको घाँटीको ¥याल (स्वाब)को नमुना परीक्षण पुनः गर्नुपर्ने भएकाले थप दुईदेखि तीन दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ ।
क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आउनुभएका नेपाली सेनाका डा. नवीन फुँयालले शनिबार दुई सय जनाको घाँटीको स्वाबको नमुना परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?