logo
२०८० चैत्र १५ बिहीवार



तरकारी लगाउने बारी नभएर के भयो, कौसी त छ नी !

पढ्नै पर्ने |


तरकारी लगाउने बारी नभएर के भयो, कौसी त छ नी !


प्रकाशचन्द्र भट्टराई

दमौली, फागुन १६ गते । तरकारी लगाउने खेतबारी नभएको बाहानमा बजारबाट तरकारी किनेर खानेको संख्या हिजो आज बढ्दो छ । तर तनहँुको व्यास नपा–२ दमौली बजारकी कल्पना गौलीले खेतबारी नभएपनि कौसीमा लगाएर प्रसस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नु भएको छ ।

दमौली बजारको मुटु, दमौलीको सबैभन्दा बढि व्यापार हुने मार्ग भनेर चिनिने कालिका मार्गमा करिब एक आनाको क्षेत्रफलमा बनेको आरसिसि घरको कौसीमा गौलीले करिब एक दर्जन थरीका तरकारी र जडुबुटी लगाउनु भएको छ । पाँच ढलानको उहाँको घरको कौसीमा मात्र हैन, हरेक तलाको बरन्डामा समेत गमलामा तरकारी लटरम्म फलेको देख्न पाईन्छ ।

एक आनाको जग्गामा बनेको घरमा भ-याङ लगायतको भाग छोड्दा जम्माजम्मी आधा आना भन्दा केही बढि ठाउँ बाँकी रहेको छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठुला ठुला ट्यांकी त्यसभित्रै ओकटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गाह्रो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनु भएको छ । त्यसैगरि बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकको बाल्टीमा सिजन अनुसारको तरकारी लगाउनु भएको छ ।

अहिलेको सिजनमा उहाँको कौसीमा काउली, ब्रोकाउली, कुरीलो, बोडी, साग, धनीया, मेथी, सुप, चम्सुर, सिमि, मुला, स्थानीय जातको गोलभेडा, प्याज र लसुन प्रसस्त देख्न पाईन्छ । त्यसैगरि अर्काे सिजनमा लहरेबाली तरकारी घिराम्लो, चिचिन्डा, काक्रो, बोडी, लौका, फर्सी र पिडालु समेत लगाउने योजना रहेको उहाँको भनाई छ ।

त्यसैगरि जडुबुटी तर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतीना, घ्युकुमारी पनि लगाएको उहाँले जानकारी दिनु भयो । ति सबै तरकारी र जडिबुटी पुर्ण अर्गानिक भएको उहाँले दावी गर्नु भयो । त्यतीमात्र नभएर सात रङको फुल्ने बेगन बेली फुल पनिन उहाँको कौसीमा देख्न पाइन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनु भएकी गौली सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसी खेती गरेको बताउनु हुन्छ । कौसीमा उत्पादित सबै तरकारी घरमा नै उपभोग गर्ने र कहिलेकाँही काठमाडौंमा बस्नु हुने आमा वुवाकहाँ कोशेली पठाउने गरेको उहाँले बताउनुभयो ।

छिमेकीहरुले कहिले काँही तरकारी बेच्न सुझाव दिए पनि विक्री गर्ने प्रयोजन नभएको उहाँले बताउनु भयो । बरु कहिलेकाँही धेरै उत्पादन भयो भने छिमेकी र साथी भाईलाई उपहार पठाउने गरेको उहाँको भनाई छ ।
घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाई छ । उहाँले भन्नु भयो ‘कम्तीमा तरकारी किन्ने दैनिक ५० देखी सय रुपैयाँ त बजत हुने भयो ।’ कौसी खेती गर्न थालेको करिब १५ बर्ष भईसकेको उहाँले जानकारी दिनु भयो ।

दमौलीमा घर बनाएर बसेदेखी अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाई छ । घरमा उत्पादन गर्न नसकिने, निउरो, सिब्लीगान र काउरो लगायतका केही तरकारी मात्र बजारबाट किनेर खानु परेको उहाँको भनाई छ । आलु पनि घरमा नै उत्पादन गर्न सकिने तर थोरै जग्गामा उत्पादन भएको आलुले सधैभरी धान्न नसक्ने उहाँले बताउनुभयो ।

ति सबै तरकारीकोलागि गौलीले कम्पोष्ट मल पनि बनाउनु भएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठुलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनु भयो । त्यसबाहेक तरकारीमा किरा नलागोस भनेर पीना तथा गाईको गहुँत पनि कहिलेकाँही प्रयोग गर्नुहुन्छ । पानीको रुपमा भाडा माझेको पानीलाई थोपा सिंचाई मार्फत सिन्चित गर्ने गरेको उहाँले बताउनु भयो । आधा आनाको ठाउँमा त्यती धेरै तरकारी लगाएको भन्दा कतिपयले नपत्याउने तर घरमा नै आएर हेरेपछि भने सबै दङ्ग पर्ने उहाँको भनाई छ ।

अहिले बजारमा विक्रीकोलागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेको कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेहरुले जमिनमा र नहुनेहरुले कौसी या छतमा नै लगाउन सकिने बताउनु भयो । कौसी खेतीको बारेमा कसैले जानकारी लिन चाहेमा अनुभव बाँड्न तयार रहेको भन्दै गौलीले दमौली बजारलाई कौसी खेतीको बजारको रुपमा चिनाउने गरि अव आफ्नो संस्थाले नेतृत्व लिने योजना रहेको बताउनु भयो । दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको संख्या अत्याधिक रहेको हुँदा उनीहरुलाई कौसी खेतीको बारेमा जानकारी दिन सकेमा धेरै लाभ हुने उहाँको भनाई छ । कौसी खेतीलाई प्राथमिकतामा राखेर अव योजना बनाउन आफुले व्यास नगरपालिकाको प्रमुखलाई अनुरोध गरेको पनि उहाँले बताउनु भयो ।

विशेषगरि बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएको कारण कौसी खेती नै सबैभन्दा उपयोगी हुने कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भयो । कौसी खेतीको धेरै फाईदा हुने भन्दै तिवारीले आफ्नै हातले उत्पादन गरेको विषादी रहित तरकारी उपभोग गर्न पाईने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने र छतमा लगाएको तरकारीको कारण घर भित्रको तापक्रम पनि राम्रो हुने बताउनुभयो ।
कौसी खेतीकोलागि पनि अहिले विभिन्न प्रविधिहरु आएको भन्दै तिवारीले माटो रहित तरकारी उत्पादन गर्ने बोतल, छतलाई धेरै भार नपर्ने प्लाष्टिकको हलुका गमला र साना साना टनेलहरु पनि किन्न पाईने बताउनु भयो । कसैले कौसी खेतीको बारेमा जानकारी लिन चाहेमा कार्यालयको तर्फबाट आवश्यक ज्ञान दिलाउन आफुहरु तयार रहेको ज्ञान केन्द्र प्रमुख तिवारीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?