logo
२०८० चैत्र १६ शुक्रवार



चारित्रिक प्रमाणपत्र लिन सहज बन्दै

मुख्य समाचार |


चारित्रिक प्रमाणपत्र लिन सहज बन्दै


देवबहादुर कुँवर

काठमाडौँ, फागुन १६ गते । ‘‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न उनकै पसलमा पुग्छन् ।
‘‘पैलेपैले फर्म भर्नेहरूको मारामार हुन्थ्यो, आजकल त पसल खोलेको एक घण्टा भइसक्दा समेत बोहनी नै भएको छैन,’’ महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिसरमा एकथान फोटोकपी मेसिन राखी चारित्रिक प्रहरी प्रमाणपत्रको फर्म भर्दै गरेकी ती महिलाले गुनासो थियो ।
रत्नपार्कको आकाशेपुल तल लहरै सटर छन् । ती सटरमा चियानास्ता पसलसंँगै १२ वटा फोटोकपी मेसिन राखिएका छन् । अन्य पसलले पनि ती महिलाले जस्तै आफ्नो अगाडिबाट आउजाउ गर्ने जो–कोहीलाई ‘प्लिज’ भन्दै फर्म भर्न आग्रह गर्छन् । विभिन्न प्रयोजनका लागि चारित्रिक प्रहरी प्रमाणपत्र प्राप्त गर्न नेपाल प्रहरीले चालचलन सम्बन्धी फर्महरू निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । तर सो फर्म भरिदिएबापत फोटोकपी मेसिन पसलेले ७० रुपियाँसम्म लिने गर्छन् । फर्म भर्ने कार्यसँगै नागरिकता र राहदानीसहित अन्य कागजपत्रको फोटोकपी अनिवार्य भएकाले यस्ता पसल केही महिनाअघिसम्म निकै फस्टाएका थिए ।
दैनिक २५, ३० जना ग्राहक आए पनि तीन, चार हजार रुपियाँ कमाइ हुन्थ्यो । चारित्रिक प्रमाणपत्र लिन आउनेहरूको भीड रानीपोखरीमा थेगिनसक्नु हुन्थ्यो । तर बिहीबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म स्थलगत अवलोकन गर्दा त्यस्तो अवस्था देखिएन । चालचलन कक्षका प्रहरी कर्मचारीमा कामको हतारो थिएन, फोटोकपी पसलेहरू ग्राहक बोलाइरहेका देखिन्थे । अनलाइनले राहतप्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागले चालचलनसम्बन्धी फर्म भर्न भीड लाग्नुपर्ने बाध्यता अन्त्य गरेसँगै यस्तो अवस्था आएको हो । रानीपोखरीका साथै महाराजगञ्ज, गौशाला, कालिमाटी, ललितपुर र भक्तपुर गरी उपत्यकामा छ स्थानबाट सो सेवा उपलब्ध हँुदै आएको छ । सातवटै प्रदेश प्रहरी कार्यालयबाट समेत चालचलन सम्बन्धी फर्म लिनका साथै प्रमाणपत्र वितरण हँुदै आएको छ । नेपाल प्रहरी दिवसको अवसरमा गत कात्तिकबाट चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन फर्म सेवा सुरु गरेसँंगै थप सहज भएको छ ।
प्रहरीको वेभसाइटबाट फर्म डाउनलोड गरी सम्पूर्ण विवरण भरेर इमेल गर्दा दुई दिनमै प्रमाण पत्र उपलब्ध हुने गरेको छ । अति जरुरी भएकालाई एकै दिनमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालय चालचलन शाखाले जनाएको छ । बुधबार बिहान घरमै बसेर अनलाइन फर्म भरेर प्रमाणपत्र लिन बिहीबार प्रधान कार्यालय नक्साल पुगेका कीर्तिपुर मच्छेगाउँका राजेन्द्र शर्मा अनलाइन छिटोछरितो भए पनि इन्टरनेट र कम्प्युटरको सहज पहुँच नभएकाका लागि गाह्रो हुने बताउनुहुन्छ ।
सक्कलै कागजपत्रले मर्कामाकतिपय अझै पनि पसलमा गएर हस्त लिखित फर्म भरेर नै चारित्रिक प्रमाणपत्र लिन आउने गर्छन् । प्रहरी चालचलन शाखाका प्रहरी निरीक्षक कविर प्रधान अनलाइन फर्म छिटो र सजिलो भए पनि परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागले सक्कलै कागजपत्र खोज्ने भएकाले सेवाग्राहीले दुःख पाउने गरेको बताउनुहुन्छ । अनलाइन फर्मबाट उपलब्ध चारित्रिक प्रमाणपत्रमा काउन्सिलर विभागले सक्कली प्रमाणपत्रमा छाप लगाउने गर्छ र पाँच सय शुल्क लिन्छ । यसले गर्दा सेवाग्राहीका लागि प्रहरीले सञ्चालन गरेको अनलाइन सेवा त्यति प्रभावकारी हुन सकेको छैन ।
चारित्रिक प्रमाणपत्रका लागि प्रहरी कार्यालय बाहिर फर्म भर्नेको भीड विस्तारै हट्दै जाने र प्रमाणपत्र पनि इमेलबाटै प्राप्त गरी जहाँबाट पनि प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रहरी निरीक्षक प्रधानका अनुसार सेवाग्राही प्रविधिमा अभ्यस्त नभएकाले फर्म भर्न र प्रमाणपत्र लिन लाइन बस्नुपर्ने समस्या छ । चारित्रिक प्रमाणपत्र लिनका लागि राहदानी, नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र, दुई प्रति फोटो र वैदेशिक रोजगारीको क्रममा कुबेत जानेहरूका लागि श्रम स्वीकृति अनिवार्य गरिएको छ ।
त्यस्तै, विदेशमा रहेका सेवाग्राहीको हकमा राहदानीको पृष्ठ २, ३ र ३१, अन्तिम पटक नेपाल छोड्दाको अध्यागमनको छापसहितको पृष्ठ, नागरिकता, विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको फोटोकपी र पासपोर्ट साइजको दुईप्रति फोटोसहित नाता खुल्ने आफन्तले आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । अनलाइन फर्म भर्नेका लागि २४ घण्टा नै खुला रहने गरेको छ । वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा जानेका लागि प्रमाणपत्रको सक्कल कपी लिन बिहान १० देखि ५ बजेसम्म प्रहरी प्रधान कार्यालय खुला रहन्छ ।
अन्य प्रहरी कार्यालयबाट पनि बिहान १० देखि अपराह्न ३ बजेसम्म फर्म सङ्कलन गर्ने र तीन दिनअघि सङ्कलन भएको फर्मका आधारमा तीन बजेपछि प्रमाणपत्र वितरण हुँदै आएको छ । प्रहरी प्रधान कार्यालयले अति जरुरीलाई दुई र सामान्य रूपमा तीन दिनभित्र प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ ।
वैदेशिक रोजगार, अध्ययन, बसाइँसराइ लगायत विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य हुन्छ । चारित्रिक प्रमाणपत्रमा सम्बन्ध व्यक्तिको क्रिमिनल रेकर्ड चेक (सीआरसी) उल्लेख गरिन्छ । आपराधिक गतिविधिमा संलग्न नभएकोलाई पीसीसी (प्रहरी क्लियरेन्स सर्टिफिकेट) र सजाय पाएकालाई जो जससंँग सम्बन्ध छ (टु होम इट मे कन्सर्न) उल्लेख गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?