logo
२०८० चैत्र १५ बिहीवार



अबको विकासको मोडेल रोजगार र उत्पादनमुखीः मुख्यमन्त्री पौडेल

राष्ट्रिय |


अबको विकासको मोडेल रोजगार र उत्पादनमुखीः मुख्यमन्त्री पौडेल


रामहरि गजुरेल

नुवाकोट, फागुन १४ गते । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको विकास पुरानो मोडेलबाट नभई उत्पादनमुखी र रोजगारमुलक हुने बताउनुभएको छ । सुखी नेपाली र सम्मृद्ध नेपालको सपनालाई पुरा गर्न आफुले अब नयाँ योजनासहित नयाँ धारबाट विकासको गति अघि बढाएको दाबी गर्नुभयो ।

नुवाकोट, धादिङ र रसुवाको सबैभन्दा पुरानो विद्यालयको रुपमा परिचित त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवनको उद्घघाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विगतमा जस्तो पद, प्रतिष्ठाका आधारमा कोही कसैको मुख हेरेर वा कसैलाई मनाउनका लागि मात्रै विकास नगरिने बताउनुभयो ।

‘मेरो नेतृत्वमा वागमती प्रदेश सरकारले दुईवर्षदेखि आवश्यकता र प्राथमिकताका आधारमा विकास थालनी भएको छ’, उहाँले योजना सुनाउँदै भन्नुभयो–‘जनतालाई नभई नहुने आधारभुत आवश्यकता पुरा गर्ने विकास खोजेका छौँ । बिजुली, बाटो, स्वास्थ्य र शिक्षा लगायतलाई ध्यान दिनेछौँ । त्यसपछि मात्रै अरु ठुला विकास गर्ने हो ।’

शिक्षा, स्थास्थ्यजस्ता समग्र क्षेत्रमा विकास भएमा मात्रै समृद्धि प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । स्थानिय तहका जनप्रतिनिधि, अन्य सांसदहरुसँग अनुरोध गर्दै उहाँले भन्नुभयो–‘आँखाले देखिने भौतिक विकास मात्रै विकास होइन । अबको उन्नत समयमा पनि यसरी बुझियो भने कहिल्यै हामी विकास गर्न सक्दैनौँ ।’ मानिसको जीवनमा चाहिने सबै पक्षको सकरात्मक परिवर्तन नै अर्थपुर्ण विकास भएको स्पष्ट पार्नुहुँदै मुख्यमन्त्री पौडेलले त्यसबाट मात्रै मानिसलाई रोजगार दिन र समाजका लागि उत्पादनमा वृद्धि गर्न सक्ने धारणा राख्नुभयो ।

‘जनताले जबसम्म न्युनतम आवश्यकताका लागि संघर्ष गरिरहनुपर्ने बाध्यता रहिरहन्छ, तबसम्म ठुलाठुला विकासका कुरा गरेर मात्रै हुँदैन’, मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘विकासको योजना ल्याउनुअघि त्यसले दिने फाईदा जबसम्म देखिँदैन केवल त्यो कोरा नारामा मात्रै सिमीत हुन्छ ।’

सुखी नेपाली र संमृद्ध नेपालको अभियानलाई सार्थक बनाउन विकासका मोडालिटीका न्युनतम आधारहरु केन्द्र, प्रदेश र स्थानिय गरी तीनवटै सरकारले ध्यान दिन जरुरी रहेको आवश्यकता अ‍ैँल्याउनुभयो । ‘अहिले हामी वागमतीका १३ वटै जिल्लाका गाउँहरुमा नगएको त्यस्तो ठाउँ छैन, जहाँ हामी विकास योजना लिएर पुगेका छौँ । काम गरेका छौँ ।’ अहिले यसैगरी तीनै मोडेलका सरकारले तिव्र रुपमा सबैतिरबाट काम गरिरहेको उहाँको दाबी छ । जनाताको यो साझा सरकार भएकोले जनताका पिरमर्का, कामबाट पछि नहट्ने अठोट र अभियान बोकर आफुहरु निस्किएको बताउनुहुँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘वागमती सरकार शिर निहुरिने गरी काम गर्दैन, शिर उँचो पारेर गौरवका साथ काम गर्नेछ ।’

विगतमाजस्तो साना मसिना काम लिएर सिँहदरबार धाउनुपर्ने समयको अन्त्य भइसकेको बताउनुहुँदै पौडेलले भन्नुभयो–‘प्रदेशको राजधानी पनि धाउनुपर्दैन । स्थानिय सरकारमार्फत् सबै काम हुन्छ, भइरहेको छ ।’ त्यसभन्दा माथी प्रदेशले र त्यो भन्दा ठुला विकास आयोजना केन्द्र सरकारले गर्ने जिम्मेवारी भएकोले यो तवरबाट मात्रै तीनवटै सरकारको साझा प्रयास र समन्वयबाट मुलुकको निर्माण हुनसक्ने बताउनुभयो । त्यसैले आफुले अहिले सबै ठाउँमा समानुपातिक विकासको मान्यताबाट अघि बढेको स्पष्ट पार्नुभयो ।

विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘शिक्षा नै विकासको पहिलो आधार भएकोले अब पुरानो रटान गर्ने शैक्षिक प्रणालीबाट नतिजामुखी, जीनवउपयोगी, समाजउपयोगी र उतपादनमुखी शिक्षा हामीलाई चाहिएको छ’, पौडेलले भन्नुभयो–‘अनिमात्रै उत्पानमुखी, रोजगारमुखी शिक्षाले देश बदल्न सक्छौँ ।

ठुला सडक, पुल र भौतिक संरचनाले मात्रै समृद्धि दिँदैन । सबै क्षेत्रमा योगदान दिनसक्ने क्षेत्र भनेकै शिक्षा क्षेत्र भएकोले शिक्षाको गुणस्तर जबसम्म वृद्धि गर्न सकिँदैन, अहिले दिइरहेको शिक्षाले समृद्धिको कल्पनासम्म गर्न सक्दैनौँ ।’ यसका लागि विद्यालयका शिक्षहरु पनि तयार भई जिम्मेवार बन्नुपर्नेमा उहाँको पोड थियो । सामुदायिक विद्यालयहरुसँगै सामुदायिक क्याम्पसहरुको स्तरोन्नती र विकासमा अनुदानको व्यवस्था, प्राविधिक शिक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुलाई आधारभुत पुर्वाधार र श्रेत उपलब्ध गराइने जानकारीसमेत उहाँले दिनुभयो ।

‘प्रदेश सरकारले ल्याएको यस योजना विद्यालयहरुलाई यसको सवलीकरणको निम्ति यस्ता धेरै प्रयासहरु थालेका छौँ’, उहाँले थप योजनाहरु सुनाउँदै भन्नुभयो–‘यो योजनालाई प्रत्यक विद्यालयहरुमा पु¥याउने हाम्रो योजना छ ।’ विद्यालयहरुमा नर्सको व्यवस्था पहिलोपटक वागमती सरकारले सुरु गरेको र त्यसबाट बालबालिकाको स्वास्थ्य, खानपान, सरसफाई र किशोरीहरुमा महिनावारी हुँदाका समस्या समाधान भई ठुलो परिवर्तन आएको बताउनुभयो ।

सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा रु ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताउनुभयो । सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जेहेन्दार र गरीब विद्यार्थीलाई सो छात्रावासमा राखिएको जानकारी दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री पौडेलले विद्यालयमा तीन दशकभन्दा लामो समयदेखि अध्यापन गरी योगदान गर्नुहुने शिक्षक, कर्मचारी लगायत विद्यालयको विकासमा योगदान पु¥याउने विभिन्न शिक्षासेवीहरुलाई सम्मान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?