logo
२०८० चैत्र ६ मंगलवार



बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष

फिचर |


बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष
सांकेतिक तस्विर


राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुर, फागुन १३ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन व्यवसाय शुरु गर्नुभएको छ । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा उहाँ संलग्न हुनुभएको हो । बङ्गुरपालनका लागि रु सात लाख बढी रकम उहाँले खर्चिनुभएको छ ।

छ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बङ्गुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बङ्गुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बङ्गुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गर्नुभएको छ ।

खोर निर्माणमा मात्रै रु दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले बताउनुभयो । बङ्गुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उहाँ आफँै खटिनुहुन्छ । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बङ्गुरको हेरचाह गर्नमै खर्चिदै आउनुभएको छ ।

“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बङ्गुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु”, उहाँले भन्नुभयो, “दैनिक बङ्गुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बङ्गुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।”

काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गर्नुभएको छ । बङ्गुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बङ्गुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बङ्गुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।

पहिला माछापालनका लागि पाँच कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो वडाध्यक्ष ऐरले भन्नुभयो, “माछापालनबाट वार्षिकरुपमा छ क्विन्टल बढी माछा उत्पादन हँुदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बङ्गुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बङ्गुरपालनलाई सँगसँगै लगिएको उहाँले बताउनुभयो ।

विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै रु दुई लाख जति हुने गरेको थियो । बङ्गुरपालन संगै पोखरीमा माछाको भुरा मात्रै यस बर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उहाँको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।

“बङ्गुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ” वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।” वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बङ्गुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । रु दुई करोडको लागतमा सञ्चालन गरिएको उहाँको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै रु ६५ लाख बढीको निर्यात हँुदै आएको उहाँले बताउनुभयो ।

उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हँुदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बङ्गुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उहाँले १२ जनालाई रोजगारी दिनुभएको छ । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उहाँले सञ्चालन गर्दै आउनुभएको हो । आर्थिकरुपमा सवल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हँुदै आएको उहाँले बताउनुभयो । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बङ्गुरपालनका लागि लगानी गरिएको उहाँको भनाइ छ ।

“राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हँुदैन । त्यसलाई पूर्ति गर्नका लागि बङ्गुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हँु ।”राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् ।

आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ उहाँले भन्नुभयो, “आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डो¥याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफँै समृद्धितर्फ लम्किन्छ ।”

समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ सङ्कल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पु¥याउँछ ।” यसैगरी वडाध्यक्ष ऐरले हाँससमेत पाल्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?