logo
२०८० चैत्र १५ बिहीवार



कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र

राष्ट्रिय |


कोसी करिडोरको सबस्टेसन निर्माण तीव्र


चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङकोे ढुङ्गेसाँघुस्थित कोसी करिडोर प्रसारण लाइनका लागि निर्माणाधीन सबस्टेसन निर्माणको कार्यलाई तीव्रता दिइएको छ । मैवाखोला गाउँपालिका–१, ढुङ्गेसाँघुमा निर्माण सुरु गरिएको २२० केभीए क्षमताको सबस्टेसन निर्माण भइरहेको छ ।
निर्माण कार्य सुरु भएको पाँच महिनामा करिब १० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी केईसी इन्टरनेसनलले जनाएको छ । भारतीय निर्माण कम्पनी केईसी इन्टरनेसनलका साइट इन्चार्ज राजित मियाँका अनुसार भवन निर्माण, जमिन सम्याउने, माटो भर्ने, ट्रान्सफर्मर राख्ने केन्द्रको व्यवस्थापनसहितका जगका कार्य भइरहेका छन् । निर्माणको कार्य प्रारम्भ गरेसँगै अहिले दैनिक ८६ जना कामदारमार्फत काम भइरहेको मियाँले जानकारी दिनुभयो ।
ताप्लेजुङमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जडान गर्नका लागि कोसी करिडोरअन्तर्गत गत असोजदेखि सबस्टेसन निर्माणको कार्य सुरु गरिएको हो ।
स्थानीय क्षेत्रका जनशक्तिसमेत परिचालन गरेर सन् २०२० को डिसेम्बरभित्रै सबस्टेसन निर्माणको कार्य पूरा गर्ने योजनाका साथ काम भइरहेको मियाँले बताउनुभयो । निर्माण कार्यका लागि प्राकृतिक वा अन्य कुनै खालको अवरोध सिर्जना नभएमा लक्ष्यअनुसार काम पूरा हुनेमा कुनै द्विविधा नहुने उहाँको भनाइ छ ।
निर्माण कम्पनीका अनुसार कम्पनीसँग सम्पर्कमा रहेका अन्य दक्ष जनशक्तिसमेत काममा परिचालन गरिने छ । आयोजना प्रभावित वा स्थानीय क्षेत्रका जनशक्तिलाई समेत रोजगारीको अवसर दिने गरी स्थानीय मजदुरलाई काममा लगाएको तर उनीहरूमा आवश्यक दक्षता पाउनलाई कठिन भएको उहाँको भनाइ छ ।
ठूलो क्षमताको विद्युत् सबस्टेसन निर्माण भइरहेकाले यसमा ट्रान्सफर्मरसहितका उपकरण वजनदार उपकरणलाई सबस्टेसन स्थलसम्म पु¥याउन समस्या हुने मियाँले बताउनुभयो ।
उहाँका अनुसार मेची राजमार्गको बिर्तामोड–इलाम–फिदिम हुँदै ताप्लेजुङ सदरमुकामसम्म उपकरणहरू पु¥याउनलाई सहज भए पनि सदरमुकाम फुङ्लिङबाट बहानन्दे–दोभान हुँदै निर्माण स्थलसम्म पु¥याउनुलाई निकै चुनौतीपूर्ण छ । सामग्री ढुवानीमा सहजताका लागि अहिले निर्माण कम्पनी आफैँले खाम्लुङ दोभानबाट ढुङ्गेसाँघुको तेल्लाबुङसम्म सडकको ट्र्याक खुलाउने कार्य पनि गर्दै आएको कम्पनीले जनाएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत ट्र्याक खुलिसकेको ठाउँमा केही अप्ठ्यारो र साँघुरो भएको ठाउँमा विस्तार तथा स्तरोन्नतिको कार्य पनि गर्दै आएको मियाँले जानकारी दिनुभयो ।
कुल ४३ हजार वर्गमिटर (करिब पाँच सय रोपनी) क्षेत्रफलमा फैलिएको सबस्टेसन निर्माणको लागत दुई अर्ब ४० करोड भारतीय रुपियाँ अर्थात् करिब तीन अर्ब ८४ करोड नेपाली रुपियाँ छ । उक्त सबस्टेसन निर्माण भएपछि सानिमा हाइड्रो पावरद्वारा हाल निर्माण भइरहेको ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना, स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीद्वारा प्रस्तावित १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत्लगायतका आयोजनाबाट उत्पादन हुने विद्युत् यही सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जडान हुनेछ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?