logo
२०८० चैत्र १६ शुक्रवार



ग्रीसमा पहिलो महिला राष्ट्रपति

अन्तर्राष्ट्रिय |


ग्रीसमा पहिलो महिला राष्ट्रपति


एथेन्स, माघ ८ गते । वातावरणीय कानून र संविधानमा विशेष दक्षता भएकी न्यायाधीश बुधबार ग्रीसको पहिलो महिला राष्ट्रपति बन्न लाग्नु भएको छ ।
राष्ट्रपति पदकी उम्मेदवार एकातेरिनी साकेल्लारोपोलोउले अन्तर–पार्टी समर्थन प्राप्त गरिसक्नु भएको छ । ग्रीसको विदेश नीतिमा सङ्कट बढ्दै गएको अवस्थामा उहाँको नाममा भएको सहमतिले राम्रो सङ्केत गरेको केही जानकारहरुको भनाई छ ।
“ग्रीसको खुलापन र भविष्यका लागि यो शुभ सङ्केत हो,” प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताउनुभयो । उहाँले साकेल्लारापोलोउलाई राष्ट्रपतिमा चयन गरियोस् भन्दै बुधबारको संसद बैठकमा पेश गर्नुभएको छ ।
चार दशकदेखि न्याय क्षेत्रमा सक्रिय अनुभवी ६३ वर्षीया साकेल्लारापोलोउले सन् २०१८ देखि ग्रीसको माथिल्लो प्रशासनिक अदालत ९काउन्सिल अफ स्टेट०को अध्यक्षका रुपमा जिम्मेवारी सम्हालिरहनु भएको छ । यो पद सम्हाल्ने उहाँ पहिलो महिला पनि हुनुहुन्छ ।
सर्वोच्च अदालतका न्यायाधीशकी छोरी साकेल्लारापोलोउले पेरिसको सोर्बोन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुका साथै संवैधानिक र वातावरणीय कानूनमा विशेषज्ञ हुनुहुन्छ ।
हाल ग्रीसमा प्रोकोपिस पाभ्लोपोलोस राष्ट्रपति हुनुहुन्छ, र उहाँको पाँच वर्षको कार्यकाल आगामी मार्चमा समाप्त हुँदैछ ।
ग्रीसमा राष्ट्रपतिको चयन संसदले गर्दछ । साकेल्लारापोलोउले बुधबार हुने मतदानमा २६० भन्दा बढी मत प्राप्त गर्नु हुनेछ । मुख्य विपक्षी दलहरूको पनि समर्थन भएका कारण उहाँको विजयी सुनिश्चित भएको हो । संसदमा राष्ट्रपति चयन हुन हाल न्यूनतम २०० मत भए पुग्छ ।
मुख्य विपक्षी वामपन्थी नेता अलेक्सिस सिप्रासले साकेल्लारापोलोउ एक “असाधारण न्यायाधीश“ र मानव अधिकारको पक्षधर रहनु भएको बताउनुभयो । समाजवादी किनाल पार्टीले पनि समर्थन जनाइसकेको छ ।
प्रधानमन्त्री मिट्सोटाकिसले यस पटक राष्ट्रपतिका लागि महिलाको छनौट मात्र होइन कुनै दलको सदस्य नरहेको व्यक्ति पनि राष्ट्रपतिमा उम्मेदवार बन्नु भएकाले विगतको लामो परम्परा तोडिएको बताउनुभयो । विगतका राष्ट्रपतिहरू प्रायः पार्टीका वरिष्ठ व्यक्तित्वहरू रहने गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?