logo
२०८० चैत्र १६ शुक्रवार



एकै दिन हजार पर्यटक, नाकामा भव्य स्वागत

राष्ट्रिय |
पर्यटन |


एकै दिन हजार पर्यटक, नाकामा भव्य स्वागत



भैरहवा समाचारदाता

भैरहवा, पुस २९ गते । रुपन्देहीको बेलहिया नाका हुँदै एकै दिन एक हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश गरेका छन् । उक्त नाकाबाट सोमबार दक्षिण कोरिया, कम्बोडिया, मलेसियालगायतका मुलुकबाट त्यतिको सङ्ख्यामा लुम्बिनी आएका हुन् । रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट पर्यटक सबैभन्दा बढी भित्रिने नाकाको रूपमा परिचित छ ।
त्यसरी नेपाल भित्रिएका पर्यटकको भव्य स्वागत गरिएको छ । सिद्धार्थ होटल एसोसिएसनको आयोजनामा दक्षिण कोरियाली पर्यटकको स्वागत गरिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहकार्यमा भारतको कुशीनगर हुँदै लुम्बिनी भ्रमण गर्न नेपाल आएका विदेशी पर्यटकको स्वागत गरिएको हो । सिद्धार्थ होटल एसोसिएसन, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर (सोट्टो) प्रदेश पाँच, बेलहिया गाउँ समाजले दक्षिण कोरियाका भ्रमण टोलीको बेलहिया नाकामा स्वागत गरेका हुन् ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा होटल एसोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले दक्षिण कोरियाबाट आएका ४५६ विशिष्ट तथा अति विशिष्ट सरकारी कर्मचारीका टोलीलाई बेलहियामा स्वागत गरेको बताउनुभयो । श्रेष्ठले लुम्बिनी विकास कोषको सहयोगमा उनीहरूको स्वागत गरेको जानकारी दिनुभयो ।
नेपाल भ्रमण वर्ष शुभारम्भ भएको दोस्रो सातामै ठूलो सङ्ख्यामा लुम्बिनी आएका विदेशी पर्यटकले अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश पु¥याउने र यसले भ्रमण वर्ष सफल पार्न ठूलो मद्दत मिल्ने उहाँले बताउनुभयो ।
सिद्धार्थ होटल एसोसिएसनका महासचिव रवि घिमिरेले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूले कार्यक्रम गरिरहँदा सरकारी प्रतिनिधिको कुनै उपस्थिति नहुँदा खिन्नता महसुस भएको बताउनुभयो । घिमिरेले निजीस्तरबाट मात्र लागेर भ्रमण वर्ष सफल नहुने बताउँदै सरकारले पनि यसमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?