logo
२०८१ बैशाख ६ बिहीवार



पर्यटक लोभ्याउने योजनामा स्थानीय तह

मुख्य समाचार |


पर्यटक लोभ्याउने योजनामा स्थानीय तह


नगेन्द्र सापकोटा

काठमाडौँ, पुस २९ गते । काठमाडौँ उपत्यकाका नगरपालिकाले नेपाल भ्रमण वर्र्ष लक्षित गरी आ–आफ्नो नगरपालिकाको पर्यटकीय क्षेत्र सिँगार्न र पर्यटनमैत्री बनाउन सक्रिय भएका छन् । उनीहरू सम्पदा अवलोकन, जङ्गल सवारी, धार्मिकस्थललाई पवित्र तीर्थस्थलका रूपमा प्रचार गर्ने, जिपलाइन निर्माण, पद यात्राको व्यवस्था र होमस्टे निर्माणलगायतका काममा सक्रिय भएका छन् ।
नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक नेपाल भिœयाउने सरकारले योजना बनाएको छ । उक्त योजनालाई सार्थक बनाउन उपत्यकाका नगरपालिकाले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक र पर्यटकीय स्थललाई आकर्षक बनाउन लागेका हुन् ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेपाल भ्रमण वर्षमा नगरपालिकाभित्र भएका पर्यटकीयस्थल सिँगार्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार इचङ्गुनारायण मन्दिर, हल्चोक आकाशभैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान, स्विजरल्यान्ड पार्कलाई पर्यटकमैत्री बनाइएको छ ।
त्यस्तै, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर र नगरपालिकाका विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “नगरपालिकामा भएका क्षेत्र सधैँ पर्यटकका लागि आकर्षण स्थल हो, नेपाल भ्रमण वर्षलाई लक्षित गरी यी क्षेत्रमा थप आकर्षक बनाउन लागिएको हो ।”
ललितपुरको महालक्ष्मी नगरपालिकाले नेपाल भ्रमण वर्ष अवधिमा आन्तरिक र बाह्य पर्यकलाई हाइकिङ र साइकलिङको प्रबन्ध गरिएको जनाएको छ । नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले लुभु र सिद्धिपुरमा गरिने स्थानीय उत्पादन पर्यटकलाई अवलोकन गराउने, अशोक स्तूपा, लाकुरी भञ्ज्याङमा पर्यटकलाई भ्रमण गराउने आवश्यक प्रबन्ध गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काफ्ले सामुदायिक वनदेखि लाकुरी भञ्ज्याङसम्मको दुई किलोमिटर दूरीमा पर्यटकलाई पैदल यात्राको व्यवस्था गरिएको छ ।”
सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगर क्षेत्रमा पाँच लाख पर्यटक भिœयाउने योजनाका साथ काम भइरहेको बताउनुभयो । उहाँका अनुसार काँक्राबारी हुँदै नैचाल, घ्याम्पेडाँडा, रानीकोट बाघभैरव, लाकुरी भन्ज्याङ हुँदै अन्तलिङ डाँडासम्म पद मार्ग निर्माण
गरिएको छ ।
यसअघि नै निर्माण हुन लागेको जियोलोजिकल पार्क निर्माण कार्यलाई तीव्रता दिन सङ्घीय सरकारलाई आग्रह गरिएको र नगरपालिका क्षेत्रभित्र भएका उच्च भागमा जग्गा भएका जग्गाधनीले पर्यटनमैत्री व्यवसाय सञ्चालन गर्न जग्गाधनीलाई नगरपालिकाले आग्रह गरेको उहाँले बताउनुभयो ।
शङ्खरापुर नगरपालिकाले नेपाल भ्रमण वर्षमा जहरसिंहपौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, देउराली प्याराग्लाइडिङ, साँखु विशम्भरा नगरकोट पैदल यात्रा, कात्तिके हिल स्टेसन, जङ्गल पदयात्रा सुनडोल, सेतीदेवी मन्दिर, झोलुङ्गेपुल मणिचुड, सालिनदी र इन्द्रायणीलगायतका क्षेत्र पर्यटकी क्षेत्र भएको जनाएको छ ।
नगरप्रमुख सुवर्ण श्रेष्ठले सिङ्गो नगरपालिका क्षेत्र नै पर्यटकीय क्षेत्र भएकाले नेपाल भ्रमण वर्ष अवधिमा नगरपालिकाको स्थानीय उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो । शङ्खरापुर नगरपालिकाले नगर क्षेत्रमा भएका होटललाई पर्यटनमैत्री रूपमा निर्माण गर्न लागिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?