logo
२०८० चैत्र १५ बिहीवार



क्रिसमस मनाइँदै

राष्ट्रिय |


क्रिसमस मनाइँदै


यलु जोशी

काठमाडौँ, पुस ९ गते । राजधानीका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरूमा ‘क्रिसमस’ निकै सजिसजाउ छन् । रेस्टुरेन्टहरूमा हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’मा बत्तीको चमकसहितको एउटा आकर्षक आकृति देखिन्छ ।
कृत्रिम तथा प्राकृतिक स–साना रूखलाई सजाएर मनाइने क्रिसमसमा बत्ती र कला अनिवार्यजस्तै भएको छ । अहिले नेपालका ठूलो सङ्ख्यामा युवापुस्ताले
क्रिसमस मनाउँछन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको र क्रिसमसले राष्ट्रिय चाडको मान्यतासमेत पाइसकेको अवस्थामा बर्सेनि क्रिसमस भव्य हुन थालेको छ ।
ठमेलस्थित फरएभर क्याफेका निरललित पियाले अहिले पर्यटकका लागि ‘अफ सिजन’ भए पनि नेपाली युवापुस्ताका लागि क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको बताउनुभयो । गायिका लसता जोशीले विद्यालय पढ्दैदेखि क्रिसमस मनाउँदै आएको जानकारी दिँदै विश्वव्यापी रूपमा मनाइने यो अन्तर्राष्ट्रिय चाड बनेको धारणा व्यक्त गर्नुभयो । उहाँले यसपालि आफूले विभिन्न होटलमा क्रिसमसको गीत गाउने जानकारी पनि दिनुभयो ।
ललितपुरका सनम अधिकारीको त क्रिसमसमा योजना भव्य छ । उहाँ क्रिसमस र न्यु इयर मनाउन भारतको गोवा जाने तयारीमा हुनुहुन्छ । गैरक्रिस्चियन भए पनि पुनेमा पढ्दादेखि साथीहरूसँग क्रिसमस मनाउने बानी परेको बताउँदै उहाँले चाड मनाउन त्यही धार्मिक सम्प्रदायकै हुनुपर्छ भन्ने नलाग्ने बताउनुभयो । क्रिसमसकै अवसरमा आफ्नी छोरीलाई शान्ताका लुगा
(रातो फ्रक) खरिद गर्दै गर्नुभएका नम्रता गुरागाईंले भन्नुभयो, “हामी त हिन्दू हौँ तर विद्यालयमा सबैले शान्ताका लुगा लगाउने रे, त्यसैले खरिद गर्न आएका हौँ । ”
क्रिसमसका अवसरमा काठमाडौँको ठमेल, दरबारमार्गका साथै ललितपुर, भक्तपुर, पोखरा र उपत्यका बाहिरका ठूला सहरमा पनि विविध महोत्सव र सांस्कृतिक कार्यक्रम गरी चाड मनाउन थालिएको छ । क्रिसमसका लागि आयोजना हुने यस्ता महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न मद्दत पु¥याउँछ ।
हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । क्रिसमसप्रति बढ्दो आकर्षणबारेमा राष्ट्रिय ख्रिस्टियन मण्डलीका प्रेम खड्का भन्नुहुन्छ, “केही युवाले फेसनका रूपमा यो चाड मनाएको देखिए पनि
मुख्य कुरा संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि ख्रिस्टियन धर्मावलम्बी खुल्न थालेका हुन् । ”
इसाई धर्मका संस्थापक मानिने येसु ख्रिस्टको जन्मदिन २५ डिसेम्बर भएको मान्यतासहित विश्वभर उक्त दिनलाई विशेष अवसरका रूपमा धूमधामका साथ मनाइन्छ । येसुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा देशभरका इसाई धर्मावलम्बीले विशेष प्रार्थना तथा कार्यक्रम गर्ने गर्छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?