logo
२०८० चैत्र १५ बिहीवार



ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम

खुला |


ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम


काठमाडौँ,  मङ्सिर २६ गते । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ ।

सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

सार्वजनिक यातायात चालकलाई दिइन लागिएको उक्त प्रशिक्षणका लागि काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उहाँको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालीमको आयोजना गर्नेछ । सचेतनामूलक तालीमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटनासमेत न्यूनकिरण हुने विश्वास गरिएको छ ।

काठमाडौँका सडकमा गुड्ने सवारी साधनमध्ये एक दशमलव पाँच प्रतिशत यात्रु मात्रै साइकलमा यात्रा गर्ने गरेका छन् । अन्य सबै निजी वा सार्वजनिक सावरी साधनको प्रयोग गर्ने गर्दछन् । भौगोलिक अवस्था, जलवायु र आकारका दृष्टिले काठमाडौँ उपत्यका पैदल यात्रा तथा साइकल प्रयोगका लागि अनुकूल मानिन्छ । तर यसको अभ्यास अत्यन्तै कम भएको छ भने सार्वजनिक सवारी साधनको बढ्दो प्रयोग र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना दिनहुँ जस्तै हुने गरेका छन् ।

छोटो तथा मध्यम दूरीका लागि शहरका प्रायः जसो सबै ठाउँमा सजिलै हिँडेर र साइकलबाट पुग्न सकिन्छ । उपयुक्त भौतिक पूर्वाधार तथा नीति नियमको अभावमा यस्ता वातावरणमैत्री यातायात प्रणाली अवलम्बन गर्न शहरवासीलाई कठिनाइ भइरहेको छ । ठूला सवारी साधनको कम प्रयोग गरेर साइकल यात्रालाई प्रोत्साहन गर्नका लागि आगामी शनिबारदेखि पहिलो चरणमा माइतीघर तीनकुने साइकलमार्गको सञ्चालन तयारीसमेत गरिसकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?