logo
२०८० चैत्र १५ बिहीवार



अन्तरघातीलाई कारवाही नगरेसम्म काँग्रेसले जित्दैन : देउवा

राष्ट्रिय |


अन्तरघातीलाई कारवाही नगरेसम्म काँग्रेसले जित्दैन : देउवा



भैरहवा समाचारदाता
भैरहवा, मंसिर २१ गते । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताउनुभएको छ । उहाँले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गर्नुभयाे ।
नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेलालाई शनिबार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिनुभयो । “अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता, कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ”–उहाँले भन्नुभयो ।
देउवाले पार्टीभित्र अन्तरघात भएसम्म काँग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दावी गर्नुभयो । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताउनुभयो । “विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो”–उहाँले भन्नुभयो । कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उहाँको भनाइ थियो ।
सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गर्नुभयो । काँग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा मिल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताउनुभयो । उहाँलेसरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाउनुभयो । “काँग्रेस मतमा केही कमजोर देखिएको छ, तर सधैंभरी यो रहँदैन, खोलामा कहिले बाढी आउँछ र त्यही खोला कहिलेकाहीं सुख्छ”–उहाँले भन्नुभयो । सरकारले गर्नुपर्ने काम काँग्रेसले प्रतिपक्षमा बसेर पनि गरेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले व्यक्ति बलियो र पार्टीलाई कमजोर बनाउन नपाइने बताउनुभयो । उहाँले वर्तमान सरकार संविधानलाई कमजोर बनाउने कार्यमा लागेको आरोप लगाउनुभयो । रज्जाकले कम्युनिष्टहरु लोकतन्त्रवादी हुन नसक्ने दावी गर्नुभयो ।
काँग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मातृकाप्रसाद यादवले पार्टी एकढिक्का नहुँदा सरकारको नेतृत्व अन्य दलले गर्नु परेको बताउँदै पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
काँग्रेस सिद्धार्थनगरका सभापति दिलिप धितालले उपनिर्वाचनमा कांग्रेसले लालकिल्ला भत्काउन सफल भएको बताउनुभयो । पार्टीका सिद्धार्थनगर समिति सदस्य कोशिष ख्डकाले अबको दिनमा सबै मिलेर गए कांँग्रेसलाई कुनै पनि शक्तिले पनि हराउन नसक्ने दावी गर्नुभयो ।
त्यस अवसरमा काँग्रेस सिद्धार्थनगर समिति कोषाध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार गुप्ता, सचिव सञ्जिव शर्मा रेग्मीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल तथा पाँचवटा ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तिहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?