logo
२०८० चैत्र १६ शुक्रवार



रोकिएको पुल छिटो बनाउन दबाब

प्रदेश |


रोकिएको पुल छिटो बनाउन दबाब


रामपुर, मङ्सिर ६ गते ।  प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ ।

रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको जनाएको छ ।

बिहीबार पुट्टारमा बसेको रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिको बैठकले पुल निर्माण दबाब समिति गठन गरेको हो । समितिमा दानस मल्ल, दानबहादुर शाही, शिवराज सिग्देल र नारायण मल्ल रहेका छन् ।


रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले पटक पटक हिउँद लागिसकेकाले निर्माण छिटो थाल्न भने पनि बेवास्ता गरेकाले पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन दिनभित्र काम थालनी नगरे सम्बन्धित निकायमा दबाबका लागि जाने निर्णय गरेको छ ।

गत मङ्सिरदेखि निर्माण थालेको पुलको २१५ मिटर लम्बाइ पाँचवटा पिल्लर सहितको नौ मिटर चौडा भएको पुल ३ वर्षभित्र सक्ने सम्झौता भए पनि नदीको एकापट्टि एउटा मात्रै पिल्लर उठाएर अलपत्र पारिएको उपभोक्ता समितिका सचिव दानस मल्लले बताउनुभयो । उहाँका अनुसार काली नदीमा बर्सातको समयमा काम गर्न समस्या हुने कारण केही समयका लागि रोकिएको थियो तर हिउँद लाग्दासमेत शुरु नगरेपछि समयमै काम सम्पन्न नहुने चिन्ता स्थानीयवासीको छ ।

करिब रु २८ करोडको लागतमा ३ वर्षभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको युनाइटेड विल्डर्स कम्पनीले बर्सातको कारण देखाउँदै गत असारदेखि काम ठप्प पारेको हो । प्रदेश नं ५ का गाउँघरमा उत्पादित कृषि उपजलाई बजारसम्म पु¥याउन तथा गण्डकी प्रदेशसँग सिधा सम्पर्क बढाउन यस क्षेत्रमा पुल निर्माण गर्न लागिएको छ । कालीगण्डकी करिडोर नजीकैबाट बन्ने पुलले यस क्षेत्रका नागरिकलाई अन्य क्षेत्रसँग जोडिन सहज हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?