logo
२०८० चैत्र १६ शुक्रवार



दुई रुपियाँबाट सुरु भएको कोषमा दुई करोड !

पढ्नै पर्ने |


दुई रुपियाँबाट सुरु भएको कोषमा दुई करोड !


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २९ गते । कार्यालय सहयोगीलाई चश्मा किन्नको लागि २०३६ सालमा दुई रुपियाँबाट सुरु गरिएको कोषमा अहिले दुई करोड रुपियाँ बचत भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा २०३६ सालमा तल्लो दर्जाका कर्मचारीलाई चश्मा मात्रै भए पनि किनेर दिने उदेश्यले सुरु भएको कोष यतिबेला कर्मचारीको विपत्तिको भरपर्दाे साथी बन्न थालेको छ । धेरै कर्मचारीको ज्यान जोगाउने साथीको रुपमा कोष विकास भएको छ ।

‘४० बर्षअघि सुरु भएको चश्मा अनुदान अहिले पनि निरन्तर रुपमा संचालन भइरहेको छ’ कल्याणकारी कोष सञ्चालक समितिका पूर्व अध्यक्ष दिव्यराज पौडेलले बताउनु्भयो ।

कोषका सदस्य बाबुराजा बोहराले भन्नुभयो - ‘हृदयघातको समस्या र मृगौला फेर्न पर्ने अवस्थामा २०६६ सालमा जीवनको आश मैले मारिसकेको थिएँ तर कोषले आपसी सहयोग मार्फत पाँच लाख रुपियाँ उपलव्ध गरायो र उपचारप्रति सकारात्मक हुन उत्प्रेरित गरेकैले मैले नयाँ जीवन प्राप्त गरेको हुँ ।’

रेडक्रस कर्मचारी कल्याणकोषका सदस्यहरूबीच पारस्परिक सहयोगको आधारमा विपत्तिको अवस्थामा सहयोग पुर्याउन तथा अन्य अवस्थामा सामाजिक तथा आर्थिक स्थिति सुधारको लागि कार्यक्रमहरू सञ्चालन गर्न २०३६ साल साउनदेखि रेडक्रसका सहयोगी कर्मचारीबाट दुई रुपियाँ र अधिकृतस्तरका कर्मचारीबाट पाँच रुपियाँ र मासिक उठाई सुरु गरिएको कल्याणकोषमा अहिले एक करोड ९६ लाख रुपियाँ रहेको र कल्याणकारी कार्य सञ्चालनमा रहेको छ ।

४० वर्ष अघि पियन कर्मचारीलाई चश्मा किन्न सहयोगबाट सुरु गरिएको कोषको गतिविधिमा चश्मा अनुदानलाई अहिलेपनि निरन्तरता दिएको छ । त्यस्तै, कोषमार्फत् शैक्षिक प्रोत्साहन पुरस्कार, खेलकूद प्रतियोगिता, प्रसूति सहयोग, असाध्य रोगबाट पीडितलाई नगद सहयोग हुँदै आएको छ । २०७२ सालको भूकम्पबाट अति पीडित कर्मचारीलाई कोषले एकलाख एघार हजार रुपैयाँ सहयोग गरेको थियो ।

नेपाल रेडक्रसको कर्मचारी कल्याण कोषले आफ्नो ४० औँ वर्षगाँठ कार्यक्रम तथा वार्षिक साधारणसभा कार्यक्रम विहिबार कालिमाटी, काठमाडौँमा सम्पन्न गरेको छ । आगामी आर्थिक बर्षको लागि ११ लाख ६१ हजार साधारण तर्फ तथा अनुमानित दुई करोड रुपैँया आपतकालीन अवस्थामा ऋण सहयोग गर्ने कार्यक्रम तय गरेर पूरा गरेको छ । कार्यक्रममा कल्याणकोषको स्थापना र विकासमा सहयोग पुर्याउने र उत्प्रेरणात्मक सहभागिता जनाउनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त, पूर्व उप–कार्यकारी निर्देशक इन्द्रबहादुर केसी तथा उत्प्रेरणात्मक नृत्य तर्फ रामकृष्ण शर्मा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?