logo
२०८१ बैशाख ८ शनिवार



राजधानी र नामाकरण १५ दिनभित्र टुङ्गो लाग्ने मुख्यमन्त्री पौडेलकाे दाबी

राष्ट्रिय |


राजधानी र नामाकरण १५ दिनभित्र टुङ्गो लाग्ने मुख्यमन्त्री पौडेलकाे दाबी


मकवानपुर समाचारदाता
हेटौँडा, कात्तिक २८ गते । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी १५ दिनभित्र टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रदेशको स्थायी राजधानी र नामाकरण प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लाग्दासमेत टुङ्गो लाग्न नसकेको भन्दै प्रदेश सरकारसँगै सत्तारुढ दलको आलोचना भइरहेको समयमा मुख्यमन्त्री पौडेलको यो पछिल्लो अभिव्यक्ति आएको हो ।
आन्तरिक राजस्व विभागको आयोजनामा बिहीबार हेटौँडामा भएको सिस्नुपानी नेपालको करमैत्री यात्रामा बोल्दै उहाँले प्रदेशको स्थायी राजधानी र नामाकरण १५ दिनभित्र टुङ्गो लगाउने बताउनुभयो ।

कार्यक्रममा कलाकारहरुले प्रदेशको स्थायी राजधानी र नामाकारण अर्को पटक आउँदासम्ममा टुङ्गो लागोस् भन्ने आग्रहमा मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘प्रदेशको स्थायी राजधानी र नामाकरण अर्को पटक आउँदा र अर्को वर्ष कुर्नुपर्दैन अबको १५ दिनभित्रमा टुङ्गो लगाउँछौ, निश्चिन्त हुनुहोस् ।’

उहाँले करमैत्री यात्रा सरकारको सहयोगी अभियान भएको बताउनुभयो । कर पनि नतिर्ने र स्वाभिमानी पनि बन्छु भन्ने सम्भव नभएको बताउँदै मुख्यमन्त्री पौडेलले मुलुकले लिएको समृद्धिको लक्ष्य पूरा गर्न सबैको सहयोग आवश्यक पर्छ, भन्नुभयो ।
उहाँले कर तिर्नु हरेक नागरिकको कर्तव्य भएको बताउँदै कर तिरेर देश बनाउने अभियानमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो

कार्यक्रममा सिस्नुपानी नेपालका मनोज गजुरेल, लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धिरेन्द्र प्रेमर्सी, शिशिर घिमिरे, कमलीकान्त भेटवाललगायतले कर नतिर्नु पनि भ्रष्टाचार भएको, कर लिए अनुसार सुविधा दिनुपर्ने, कर तिर्नु नागरिकको दायित्व भएको, आम्दानी गर्नेले कर तिर्नु दायित्व भएकोलगायतका सन्देशमूलक हास्यव्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जेलामालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख कर अधिकृत सन्तबहादुर ढकाल र कर अधिकृत हरिकुमार ढकालले करबारे बोल्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?