logo
२०८१ बैशाख ७ शुक्रवार



स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार

राष्ट्रिय |
फिचर |


स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार


गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक २६ गते । स्थानीय तहको उपनिर्वाचनका लागि बुधबार विहान १० देखि १ बजेसम्म सम्बन्धित जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २० गते नै सम्बन्धित स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

स्थानीय तहका प्रमुख एक, गाउँपालिकाका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ समेत गरी ४८ पदका लागि उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम बुधबार रहेको जानकारी निर्वाचन आयोगले दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भने कात्तिक २१ मा नै उम्मेदवारी दर्ता भइसकेको छ ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा अध्यक्ष पदका लागि सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुख पदका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

कुनै राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि चाहिने जानकारी आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिनुभयो ।

स्थानीय तहको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷उपप्रमुखका लागि एक हजार पाँच सय र वडा अध्यक्ष पदका लागि एक हजार रुपियाँ धरौटी राख्नुपर्ने छ । उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा वहालवाला पदाधिकारी भए निजले वहाल रहेको पदबाट राजिनामा दिएको दर्ताको निस्सा पेश गर्नुपर्ने छ । २०७४ सालको प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले मनोनयनपत्र दर्ता गर्न पाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?