logo
२०८१ बैशाख १३ बिहीवार



सामाजिक सुरक्षा कोष सूचीकृत हुन पुनः एक महिना थप

राष्ट्रिय |


सामाजिक सुरक्षा कोष  सूचीकृत हुन पुनः एक महिना थप


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ८ गते । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनका लागि पुनः एक महिना समय थप गरिएको छ । यसअघि तोकिएको समय गत असोज ३० गते सकिएपछि कोषमा सूचीकृत हुने समय आउँदो कात्तिक १३ देखि मङ्सिर १३ गतेसम्मका लागि थप गरेको जनाएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार मन्त्रालयलमा पत्रकार सम्मेलनमार्फत सो बारेमा जानकारी गराएको हो । कोषका अनुसार सूचीकृत हुनेका लागि यो तेस्रो पटक अवसर हो । असोजभन्दा अगाडि गत असारसम्मको समयलाई सूचीकृत हुने अन्तिम समय तोकिएको थियो ।
पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले यसअघि तोकिएको समयमा चाडपर्वका बिदा धेरै परेकाले यसमा आउन इच्छुक धेरै रोजगारदाताको आग्रहमा समय थप गरिएको स्पष्ट पार्नुभयो । उहाँले अधिकांश ठूला रोजगारदाता सामाजिक सुरक्षा योजनामा आइसकेको र केही बाँकी रहेका पनि आउन चाहेकाले उहाँहरूकै आग्रहबमोजिम समय थप गरिएको हो भन्नुभयो ।
मन्त्री विष्टले भन्नुभयो, सामाजिक सुरक्षा योजना निर्विकल्प हो यसमा नआइकन सुख्खै छैन, एक महिना समय छुटेकालाई आउने पर्याप्त छ, छुटेका सबै आउनेमा विश्वस्त छौँ ।
सूचीकृत हुने अन्तिम पटक थपिएको समय भएको भन्दै उहाँले थपिएको समयमा पनि सूचीकृत हुन नआएको खण्डमा कानुनमा भएको व्यवस्थामोजिम कारबाही गरिने बताउनुभयो । सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउनेलाई बैङ्किङ सेवाबाट वञ्चित, सरकारबाट दिनुपर्ने सबै सेवाबाट वञ्चित, दर्ता नवीकरण सबै रोक्का गर्नसक्ने व्यवस्था छ । सामाजिक सुरक्षा कार्यक्रम नेपालका लागि नितान्त नयाँ र ठूलो कार्यक्रम भएकाले एकैबाट प्रभावकारी कार्यान्वयनमा चुनौती आउनु स्वभाविक भएको भन्दै मन्त्री विष्टले चुनौतीलाई शिक्षाका रूपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता दिनुभयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म सात करोड ६५ लाख रुपियाँ जम्मा भएको छ । सरकारले दिएको अन्तिम म्याद असोज मसान्तसम्ममा उक्त रकम योगदानकर्ताबाट जम्मा भएको हो । सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि गत मङ्सिर ११ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो ।

योगदानकर्तालाई कर्जा
यस्तै पत्रकार सम्मेलनमा कोषको लगानी कार्यविधि सामाजिक सुरक्षाकोष सञ्चालक समितिबाट पारित भएको पनि जानकारी दिइयो । कार्यविधि स्वीकृतिका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको कोषका प्रमुख कपिलमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यो कोषबाट योगदानकर्तालाई सामाजिक, शैक्षिक र घरकर्जा दिने व्यवस्था गरिएको छ ।

दुई परिवारले लिन थाले सुविधा
कोषमा सूचीकरण भइसकेका दुई जना श्रमिकका परिवारले कोषबाट सुविधा लिएका छन् । क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता इन्जिनियर रुपेन्द्र थापा र कैरोश क्याफे प्रालिमा कार्यरत प्रकाश तामाङ मोक्तानका परिवारले कोषबाट सुविधा लिन थालेको पनि जानकारी दिइयो । दुवै परिवारले दाहसंस्कारको खर्च एकमुष्ट २५ हजार रुपियाँका दरले उपलब्ध गराइएको पनि कोषले जनाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?