logo
२०८० चैत्र १६ शुक्रवार



आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री

अर्थ |


आधुनिक कृषि फार्ममा ढकमक्क सयपत्री


गलेश्वर, कात्तिक गते ।  हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियाली गु्रपले शुरु गरेको सयपत्री फूलको व्यावसायिक खेती सफल भएको छ ।

जिल्लाको बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा रु छ करोडको लगानीमा हरियाली गु्रपले सञ्चालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा यतिबेला ढकमक्क फुलेका सयपत्री फूलले वातावरण नै सुन्दर बनाइदिएको छ ।

सो फार्ममा तरकारीखेती, माछापालन, मौरीपालन, फूल र ‘ड्रागन फ्रुट’ ९सिउँडी फल० को व्यावसायिक खेती शुरु गरेको हरियाली गु्रप सञ्चालक समितिका सदस्य तथा २ नम्बर फिल्डका इञ्चार्ज केदार पौडेलले जानकारी दिनुभयो । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर पहिलोपटक छ रोपनी जग्गामा तीन हजार ५०० वटा सयपत्री फूलका बिरुवा लगाइएको र ती फूलका बोटमा अहिले ढकमक्क फूल फुलेका छन् । फूल लगाएको ठाउँको माथिल्लो भागमा सेरेना जातका १०० घार मौरी रहेका छन् ।

यहाँको फूलको माग सदरमुकाम बेनीलगायत म्याग्दीका विभिन्न क्षेत्रमा नै खपत हुने गरेको छ । त्यसैगरी, म्याग्दीमा कतै नगरिएको ‘ड्रागन फ्रुट’ का १०० बिरुवा पनि लगाइको तरकारी फिल्डका इञ्चार्ज बुद्धि सुनारले जानकारी दिनुभयो ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

“विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामूहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकको ‘आमूल’ मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म सञ्चालन गरिएको फार्मका सञ्चालक एवं फिल्ड इञ्चार्ज पौडेलले बताउनुभयो ।” पौडेलका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो ।

“कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ”, पौडेलले भन्नुभयो, “यसबाट स्थानीयलाई रोजगारी तथा फूल, तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्देश्य रहेको छ ।”

कूल ३६ जना कृषकको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ÷छ महीनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताउनुभयो । निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पक्षी कालीज पालन गर्ने तयारी गरिएको छ ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३२ जना कर्मचारी तथा मजदूरमध्ये अधिकांश जग्गाधनी छन् । जग्गाको भाडासँगै रोजगारी पाउनुका साथै खडेरी, मल–बीउ, कृषि मजदूर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताउनुभयो ।

“बजार नजिक, सडक सुविधा, अनुकूल हावापानी र ठूलो फाँट भए पनि खण्डीकृत जमीन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिँचाइको अभावले कृषि जीविकोपार्जनमा सीमित थियो”, खड्काले भन्नुभयो, “समूहकृत खेती शुरुआत भएपछि अवस्था फेरिएको छ ।”

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरी लिफ्ट प्रविधिबाट पानी तानेर सिँचाइको व्यवस्था मिलाइएको छ । बाह्रै महीना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनी, ग्रास र कमनकार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टाछुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको छ । सय घारमा माहुरी पालिएको र सय रोपनी खुला जमीन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रविधिको प्लास्टिक घरभित्र तरकारी लगाइएको छ । रु ४० लाख बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको पौडेलले जानकारी दिनुभयो । कम्पनीमा आबद्धबाहेक अन्य साना कृषकले पनि कम्पनीको मापदण्ड र गुणस्तरअनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?