logo
२०८० चैत्र १६ शुक्रवार



जनगणनाको तयारी तीव्र, लाेगाे सार्वजनिक

राष्ट्रिय |


जनगणनाको तयारी तीव्र, लाेगाे सार्वजनिक


शान्ति लामा

काठमाडौँ, कात्तिक ४ गते । नेपालको १२औँ राष्ट्रिय जनगणना – २०७८ को लोगो सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आइतबार १२आँै जनगणनाको मूल नारासहित लोगो सार्वजनिक गरेको हो ।
आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणना सङ्घीय नेपालको पहिलो राष्ट्रिय जनगणना हुनेछ । लोगोमा मुलुकको सङ्घीय संरचनाको मर्म र नागरिकको सहभागितालाई झल्काइएको केन्द्रीय तथ्याङ्क विभाग, जनसङ्ख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।
लोगो सेतो रङको पृष्ठभूमिमा शान्त हरियो अर्धवृत्ताकारभित्र विभिन्न चित्र अङ्कित गरी बनाइएको छ । अर्धवृत्ताकारभित्र विभिन्न उमेर समूह तथा महिला, पुरुषको सहभागितालाई जनाउने चित्र राखिएको छ । ‘‘अर्धवृत्ताकारले घेरेर सबैलाई गणनाको दायरामा समावेश गरिएको हो,” लागोको व्याख्या गर्दै निर्देशक लामिछानेले स्पष्ट पार्नुभयो ।
लोगोमा सङ्घीय नेपालको मानचित्र पनि संलग्न गराइएको छ भने गणनामा संलग्न महिला, पुरुष गणकलाई सङ्केत गर्ने चित्र अङ्कित गरिएको छ । ठूलो अक्षरमा जनगणना २०७८ को मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ लेखेर जनगणनाको मूल मर्मलाई जोड दिन खोजिएको निर्देशक लामिछानेको भनाइ छ ।

नमुना जनगणना चैतमा
राष्ट्रिय जनगणना २०७८ को परीक्षण सर्वेक्षणका रूपमा नमुना जनगणना २०७६ चैत महिनामा सञ्चालन गरिने भएको छ । यसको प्रक्रिया माघ १ गतेदेखि सुरु भए पनि फागुन ९ देखि २८ गतेसम्म घरपरिवार सूचीकरण र चैत ९ देखि २३ गतेसम्म गणना कार्य हुने विभागले जनाएको छ । चैत ३० गतेसम्म नमुना गणनाको सम्पूर्ण फारम केन्द्रमा आइपुग्नेछ ।
राष्ट्रिय जनगणनाको पूर्व तयारीका कार्यअन्तर्गत जनगणनामा प्रयोग हुने प्रश्नावली, निर्देशिका तथा फारमहरू लगायत विभिन्न व्यवस्थापकीय पक्षहरूको पूर्व परीक्षणसमेत गर्ने उद्देश्यले नमुना जनगणना गर्न लागिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो । नमुना जनगणनाका लागि १५ जना सुपरीवेक्षक, ६० जना गणक र ४७ जना प्रशासनिक कर्मचारी गरी जम्मा १२२ जना जनशक्ति संलग्न रहने निर्देशक लामिछानेले बताउनुभयो । सुपरीवेक्षक र गणकहरू करारमा नियुक्त गरिनेछ ।
सबै प्रदेश, हिमाल, पहाड, तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको भनाइ छ  । प्रत्येक प्रदेशका दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमुना जनगणना सञ्चालन हुनेछ । झण्डै ११ हजार ६१० घरपरिवारमा सञ्चालन गरिने नमुना जनगणनामा एक करोड १७ लाख रुपियाँ बजेट खर्च हुने अनुमान विभागले गरेको छ ।
प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडाँै, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला जिल्ला नमुना जनगणनाका लागि छनौट गरिएको छ । गणना गरिने वडाहरू भने केही सुगम र केही दुर्गम गरी छनोट गरिने निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
विषयगत प्रतिवेदन निकालिने
विगतका जनगणनाहरूभन्दा आगामी १२औँ जनगणनामा केही नयाँ प्रयोगहरू गरिँदैछ । विगतमा जनगणनाको पूर्ण तथ्याङ्कहरू ‘पपुलेसन मोनोग्राफ अभ नेपाल’ नाममा ठूल्ठूला तीनवटा ठेलीमा निकालिन्थ्यो । सबै विषयका तथ्याङ्क ‘मोनोग्राफ’भित्र नै राखिन्थ्यो । तर आगामी जनगणनामा फरक विषयका तथ्याङ्कहरू छुट्याएर निकालिने भएको छ ।
मूलतः १४ वटा विषयगत तथ्याङ्कको प्रतिवेदन निकाल्ने तयारी गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । विशेष गरी जनसाङ्ख्यिक तथ्याङ्क आउने भए पनि सामाजिक र आर्थिक तथ्याङ्कलाई पनि विषयका आधारमा छुट्याई जनगणनाको प्रतिवेदन निकालिनेछ ।
‘कुनै विषयकोे एउटा सानो तथ्याङ्क हेर्न पनि चार किलो जत्तिको पपुलेसन मोनोग्राफको किताबका सयौँ पाना पल्टाउनुपथ्र्याे,’ विषयगत प्रतिवेदनबारे स्पष्ट पार्दै निर्देशक लामिछानेले भन्नुभयो, ‘अब आफूलाई चाहेको विषयको सानो किताब पल्टाएर सजिलै तथ्याङ्क हेर्न सकिन्छ ।’ यसले विषयगत निकायलाई आफूसम्बन्धी नीति तथा कार्यक्रम बनाउन सहज र छिटो तथ्याङ्क उपलब्ध हुने उहाँको भनाइ छ ।

‘सही विवरण दिऔँ’
आगामी जनगणनाको तथ्याङ्क देशको राजनीतिक तथा विकास प्रणालीलाई समेत दिशानिर्देश गर्ने भएकाले सबैले सही विवरण दिन केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले आग्रह गर्नुभएको छ । नमुना जनगणनादेखि नै आफ्नो घरपरिवारको सबै सही विवरण दिन उहाँले सर्वसाधारणमा अनुरोध गर्नुभएको हो ।
‘जनगणनामा गलत तथ्याङ्क आउनु भनेको बिरामीले गलत औषधि सेवन गर्नुजस्तै हो,’ महानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘गलत तथ्याङ्कले गलत नीति बन्न प्रेरित गर्न सक्ने भएकाले सही तथ्याङ्क ल्याउन प्रत्येक व्यक्तिको भूमिका हुन्छ ।’ सबैले ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने जनगणनाको नारालाई मनन गर्न उहाँले अनुरोध गर्नुभएको छ ।
आगामी जनगणनामा नेपालमा कूल घरपरिवारको सङ्ख्या ७० लाख र जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको महानिर्देशक लामिछानेले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?