logo
२०८१ बैशाख ७ शुक्रवार



म्यान्माबाट नेपाललाई बुद्धका ३० मूर्ति प्रदान

राष्ट्रिय |
विदेश |


म्यान्माबाट नेपाललाई बुद्धका ३० मूर्ति प्रदान
तस्वीर - रासस


म्यान्मा, कात्तिक २ गते । यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्त(म्यान्मा)को योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल म्यान्मा दिगो सम्बन्धको प्रतीक भएको स्पष्ट गर्नुभयो । उहाँले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यान्माबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताउनुभयो । बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मालीलाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसक्नुभएका स्थानहरुमा बुद्धका मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिनुभयो । कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?