logo
२०८० चैत्र १६ शुक्रवार



सुखदुःख साथी भगिनी सम्बन्ध

राष्ट्रिय |


सुखदुःख साथी भगिनी सम्बन्ध


नगेन्द्र सापकोटा

काठमाडौँ,  कात्तिक २ गते । नेपालका विभिन्न स्थानीय तहले अन्तर्राष्ट्रिय सहरसँग जनस्तरमा सम्बन्ध विस्तार गर्नका लागि ‘भगिनी सम्बन्ध’ कायम गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका सहरमा भएका ससाना गतिविधि अदानप्रदान गर्नका लागि भगिनी सम्बन्धको सुरुवात भएको हो । सबैभन्दा पहिला २०५२ सालमा काठमाडौँ महानगरपालिकाले जापानको महात्सुमोतो सहरसँग भगिनी सम्बन्ध कायम गरी नवीन परम्परा आरम्भ गरेको थियो  ।
‘‘दुई देशका नगरमा भएका कला, संस्कृति, जीवनशैली, चाडपर्व, जात्रा र रहनसन आदान प्रदान गर्नका लागि भगिनी सम्बन्ध स्थापित गरिएको हो”, काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनालीले भन्नुभयो, “भगिनी सम्बन्ध दुई व्यक्तिबीच लगाइएको मितेरी साइनो जस्तै हो, जसरी मितेरी सम्बन्धले दुई व्यक्तिबीचको सुखदुःख, आदानप्रदान हुन्छ, त्यस्तै अन्तर्राष्ट्रिय सहरबीचको भगिनी सम्बन्धले पनि त्यस्तै सुखदुःख आदान प्रदान गर्छ ।”
उहाँका अनुसार जापानको महात्सुमोतो सहरसँग भगिनी सम्बन्ध स्थापित भएपछि काठमाडौँ महानगरको पक्नाजोलमा महात्सुमोतो सहरले जुडो हल निर्माण गरिदिएको थियो । भगिनी सम्बन्ध कायम गर्ने कुरा नेपालसँग मात्र नभएर अन्तर्राष्ट्रिय अभ्यास हो । अन्तर्राष्ट्रिय सहरले जसरी नेपालका सहरसँग भगिनी सम्बन्ध कायम गरे जस्तै अन्य देशका सहरसँग पनि भगिनी सम्बन्ध कायम गर्ने गरेका मैनालीले बताउनुभयो ।
त्यस्तै, सबैभन्दा पछि हालै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला काठमाडौँ महानगरपालिका र चीनको नान्जिन सरहबीच र बुटवल उपमहानगरपालिका र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
दुई देशबीचको कूटनीतिक सम्बन्धले भने दुई देशको सरकारबीचको सम्बन्ध स्थापित गरी ठूला प्रकृतिका योजना र लगानी आदान प्रदान हुन्छ तर दुई देशका सहरबीचको सम्बन्धले ससाना प्रकृतिका विकास निर्माण, सुशासन र संस्कृतिसमेत आदान प्रदान गरी सम्बन्धलाई झनै कसिलो पार्ने बुझाइ मैनालीको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवल उपमहानगरपालिका र चीनको सियान सहरबीच भएको भगिनी सम्बन्धले बुटवललाई विश्वसामु चिनाएको बताउनुभयो ।
दुई सहरबीच भएको सम्झौतामा चीनको सियान सहरले चीनको रेलवेका विषयमा अध्ययन गर्न चहाने २० जना विद्यार्थीलाई सियान सहरले पूर्ण छात्रवृत्ति दिने सम्झौता भएको छ । शर्माले भन्नुभयो, “यो नेपालकै लागि महìवपूर्ण उपलब्धि हो ।”
भगिनी सम्बन्ध कायम भएको भोलिपल्टै गत सोमबार चीनका सियान नगरका विदेश विभाग प्रमुख छयाङ सङको नेतृत्वको टोलीले बुटवलको भ्रमण गरेको उहाँले जानकारी दिनुभयो । उहाँले अब चिनियाँ पर्यटक बुटवल थप आकर्षित भई दुई देशबीचको संस्कृति आदानप्रदान हुने शर्माले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाले चीनको सेन्जेन, ल्यासा, सियान, लान्जाओ, छेन्दु, नानिङ्ग सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ । त्यस्तै काठमाडौँ महानगरकै भगिनी सम्बन्ध भएका सहरमा संयुक्त राज्य अमेरिकाको युजेन सहर, रोचेस्टर, अमेरिकाको फ्रेडरिकबर्ग र बोल्डर सहर बेलारुसको मिन्सक सहर, बर्माको याङ्गुन, उत्तर कोरियाको पेङ्वाङ, भारतको वाराणासी, दक्षिण कोरियाको सोल सरहसँग भगिनी सम्बन्ध छ ।
पोखरा महानगपालिकाको भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय सहरमा जापानको कोमागाने, टर्कीको आडालर दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग भगिनी सम्बन्ध स्थापित भएका छन् । त्यस्तै, चीनको कुनमिङ्ग गोन्जाओ, यिविन, लिन्जी, छुसाओ, हाइकाओ नानिङ्ग सहर, ललितपुर महानगरपालिकाले चीनको गोन्जाओ, भक्तपुर नगरपालिकाले छेन्दु र बनेपा नगरपालिकाले सेघाछे सहरसँग भगिनी सम्बन्ध कायम गरिएको नगरपालिका सङ्घले जनाएको छ ।
नेपालका कतिपय नगरपालिकाले अन्तर्राष्ट्रिय सहरसँग भगिनी सम्बन्ध कायम राख्नका लागि प्रस्ताव गरेको र प्रक्रिया अगाडि बढेको सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठले
जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?