logo
२०८१ बैशाख १३ बिहीवार

.राजमार्गका होटलमा यात्रु ठगिँदै 



अनुगमन कर्मकाण्डी भएको गुनासो

राष्ट्रिय |


अनुगमन कर्मकाण्डी भएको गुनासो



सीता शर्मा

काठमाडौँ, असोज ३० गते । गाउँघरमा दशैँ मनाएर काठमाडौँ फर्किएका यात्रु राजमार्गका होटल, रेस्टुरेन्टदेखि (खुद्रा किराना) पत्रु पसलबाट चर्को ठगीमा परेका छन् । राजमार्गका होटल वा रेस्टुरेन्टवालाले देख्दै बासी, सडेका तथा झिँगा भन्केका र म्याद गुज्रिएका खानेकुरालाई जति मूल्य भने पनि यात्रु तिर्न बाध्य भएका छन् ।
सरकारका जिम्मेवार निकायबाट यस्ता होटल तथा रेस्टुरेन्टको प्रभावकारी अनुगमन हुन नसक्दा दशैँमा मात्र होइन अ काठमाडौँ बेला पनि यसरी ठगीमा गर्ने गरेका छन् ।
पर्वत पुगेर काठमाडौँका लागि आउँदै गर्दा धादिङको बेनीघाटको गण्डकी होटलमा खाना खाँदै गर्दा भेटिनुभएका विजय अधिकारीले राजमार्गका होटलवालाले मनपरी मूल्य लिन्छन् भन्ने थाहा हुँदाहुँदै पनि बाध्य भएर खानु परेको गुनासो गर्नुभयो ।
राजमार्गका होटलवालाले वर्षौंदेखि खाना र खाजाका नाममा मनपरी मूल्य असुल गरेको सरकारका नियमनकारी निकायले थाहा पाएर पनि थाहा नपाएको जस्तो गर्ने गरेको उहाँको आरोप छ । काठमाडौँमा प्राध्यापन पेसामा आबद्ध उहाँले भन्नुभयो, सचेत नागरिकको नाताले राजमार्गका होटलका बारेमा धेरै ठाउँमा उजुरी गरेँ तर सुनुवाइ नै हुँदैन, बेकार तनाम मात्रै ।
उहाँजस्तै साना बच्चा, वृद्ध आमा र श्रीमतीसहित स्याङ्जा गएर काठमाडौँ फर्किने क्रममा धादिङको बेनीघाटमै पोखरा स्टाफ होटलमा खाना खाँदै गर्दा भेटिएका वैकुण्ठ थापाले राजमार्गका होटल त पैसा लुट्ने अखडा भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, राजमार्गका होटलमा गाडीवाला र होटलवालाको सेटिङ हुन्छ र एक÷दुई मात्रै होटल भएका ठाउँमा गाडी रोक्ने गरिन्छ । यात्रुले जस्तोसुकै र जति मूल्य परे पनि खानैपर्ने बाध्यता हुन्छ ।
राजमार्गका होटलमा ठगिने अधिकारी र थापा त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । यस्तो ठगीमा यात्रा गर्ने सबैतिरका राजमार्गका होटलमा हुन्छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले जिम्मेवार निकायको बजार अनुगमन कर्मकाण्डी र देखावटी भत्ता पचाउने र नागरिक झुक्याउने खेलो मात्रै भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, राजमार्गका होटलवालाले देखाउने मूल्यसूची सादा खानाको प्रतिप्लेट १६० रुपियाँ भएको तर यात्रुसँग लिने बेलामा सादा खानाकै २२० रुपियाँसम्म लिएको, प्रतिप्याकेट २० रुपियाँको चाउचाउलाई ३० रुपियाँ लिएको जनाउनुभयो ।
अर्का उपभोक्ता अधिकारकर्मी विमला खनालले राजमार्गका होटलवालाले यात्रुमाथि लुट गरेको सरकारका सबै निकायलाई जानकार हुँदाहुँदै पनि सर्वसाधारण नागरिकको समस्या भएकाले बेवास्ता गरिएको आरोप लगाउनुभयो ।
उपभोक्तामाथि ठगी गर्ने व्यापारीलाई कारबाही गर्ने जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले दशैँअघि नै विभागले राजमार्गका होटलमा विशेष प्राथमिकता दिएर अनुगमन गरेर थुप्रैलाई कारबाही पनि गरेको दाबी गर्नुभयो ।
उहाँले विभागबाट राजमार्गका होटल अनुगमन गर्न गएको टोलीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर अनुगमन गरी जथाभावी मूल्य लिने व्यापारीलाई जरिवाना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सो क्रममा नौबिसेदेखि मुग्लिङसम्म २१ वटा होटल तथा रेस्टुरेन्टलाई पाँच हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना गरिएको छ ।
विभागका बजार अनुगमन अधिकृत दीपक पोखरेलले दशैँअघि घर जाने क्रममा यात्रु ठगिन सक्ने कुरामा ध्यान दिएर विभागको टोलीले राजमार्गका होटलमा अनुगमन गरेको तर घर फर्किन बेलामा अहिले भने अनुगमन गर्न नसकेको स्वीकार गर्नुभयो ।
मनपरी मूल्य असुल्न गर्ने र बासी गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने राजमार्गका होटल तथा व्यवसायीलाई कारबाही गरिने भन्दै उहाँले त्यस्ता होटलका विरुद्धमा सबै सचेत नागरिकले प्रतिकार पनि गर्न सक्नुपर्ने बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?