logo
२०८१ बैशाख १२ बुधवार



समझदारीका २० बुँदा, रेलदेखि सुरुङ मार्गसम्म

राष्ट्रिय |


समझदारीका २० बुँदा, रेलदेखि सुरुङ मार्गसम्म


ईश्वरचन्द्र झा
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा दुवै देशका मन्त्री तथा अधिकारीहरुले सहमति एवम् समझदारी पत्रहरू आदान प्रदान गर्नुभयो ।
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको उच्च स्तरीय प्रतिनिधिमण्डलबीच आइतबार बिहान औपचारिक वार्ताको क्रममा सहमति भएको बुँदाहरुमा समझदारी भएको हो ।
भ्रमण अघि नेपालले चिनियाँ प्रतिनिधिमण्डलसँगको वार्तामा सम्पर्क सञ्जाललाई प्राथमिकतामा राख्ने तयारी गरे अनुरुप वार्तापछिको सहमतिमा पनि उक्त बुँदाले स्थान पाएको छ । सम्पर्क सञ्जाल अन्तगर्त काठमाडौं केरुङ रेलमार्ग निर्माण गर्न सम्भाब्यता अध्ययन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त आयोजनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी भएको हो ।
सरकारले चिनियाँ राष्ट्रपति सीको भ्रमण अघि शक्तिसम्पन्न एवम् विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको दुई राष्ट्र भारत र चीनबीच आफ्नो भौगोलिक अवस्थितिलाई सदुपयोग गर्ने गरी अगाडि बढ्न चाहेको जनाएको थियो । सहमतिका बुँदाहरूमा समेत सरकारको अपेक्षा र प्राथमिकताहरू समावेश गरिएको छ ।
सहमतिका बुँदाहरूमा चिनियाँ लगानी प्रवद्र्धन गर्न र सहयोग आदान प्रदान गर्न दुबै देशको योजना आयोगहरूबीच समझदारी भएको छ । चिनियाँ लगानी प्रोत्साहन गर्न दुई देशबीचका अधिकारीहरुबीच समझदारी भएको हो । हिमालय पार सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक सुरुङ निर्माण सम्बन्धमा पनि दुवै देशबीच समझदारी भएको छ । जसको प्रयास स्वरुप प्रथम चरणमा अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाबीच समझदारी भएको छ ।
त्यसैगरी, सहमतिका बुँदाहरुमा व्यापार वृद्धिका लागि दुवै देशले संयुक्त कार्य दल गठन गर्ने महत्वपूर्ण समझदारी भएको छ । सहमतिको अर्को महत्वपूर्ण बुँदामा लगानी सहयोग स्थापनाका लागि कार्यदल गठन गर्ने रहेको छ । उच्च स्तरिय छलफलपछि भएको सहमतिले नेपालको कृषिजन्य उत्पादनहरुको निर्यातमा देखिएको समस्या समेत आगामी दिन समाधान हुने विश्वास गरिएको छ । सुन्तला र मौसमी जस्ता फलफूल निर्यातमा हुने समस्या समाधानका लागि पनि सहमति गरिएको छ ।
चिनियाँ राष्ट्रपतिको बहुप्रतिक्षित नेपाल भ्रमणको क्रममा दुई देशबीच भएका समझदारीका बुँदाहरू यसप्रकार छन् –
१. सीमा व्यवस्थापन सुदृढीकरण–सहमति
२. सुशासन सशक्तिकरणका लागि सहयोग आदानप्रदान–समझदारी
३.आपराधिक घटनामा साझा कानुनी सहायता सम्बन्धमा–सन्धी
४.सगरमाथा÷झुमुलोङमा संरक्षणका लागि–समझदारी
५.महत्वपूर्ण आयोजनाहरूको लगानी प्रोत्साहन गर्न राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास र पुर्नसंरचना आयोगबीच– समझदारी
६.चेङ्दुमा नेपालको वाणिज्य दूतावास स्थापना गर्न–टिप्पणी आदानप्रदान
७.चीन र नेपालको सीमापार रेल्वे आयोजनाको सम्भाव्यता अध्ययन गर्न–समझदारी
८.काठमाडौं महानगरपालिका र चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न–सहमति
९.बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्न–सहमति
१०.परम्परागत् उपचार पद्धतीमा सहयोग आदानप्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिनियाँ निकायबीच–समझदारी
११.प्रकोप जोखिम न्यूनिकरण र आकस्मिक उद्धार सम्बन्धमा सहयोग आदानप्रदान गर्न–समझदारी
१२.दुई देशको महान्यायधिवक्ताको कार्यालयबीच सहयोग आदानप्रदानमा–समझदारी
१३.त्रिभुवन विश्वविद्यालय र कन्फ्युसिस इन्स्टिच्युटबीच त्रिविमा कन्फ्युसिस इन्स्टिच्युट स्थापना गर्न सहमति
१४.मौसमी र सुन्तला जस्ता फलफूल निर्यातका लागि लागि आवश्यक प्रोटोकलमा कृषि विभाग र चीनको भन्सार प्रशासनबीच–सहमति
१५.व्यापारका लागि संयुक्त कार्यदल निर्माण गर्न समझदारी
१६.चिनियाँ सहयोग अनुगमन सञ्जाल आयोजनाका लागि स्वीकृती प्रमाणपत्र
१७.लगानी सहयोगका लागि संयुक्त कार्यदल स्थापना गर्न–समझदारी
१८.सुरुङ निर्माणका लागि–समझदारी
१९.सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि–पत्र आदानप्रदान
२०.चिनियाँ सहयोगको सम्भाव्यता अध्ययन पानी सुधार माइन्युट
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा राजकीय भ्रमण गर्नुभएका राष्ट्रपति सी आधुनिक चीन निर्माण पछि नेपाल भ्रमण गर्नुहुने तेस्रो चिनियाँ राष्ट्रपति हुनुहुन्छ । पछिल्ला वर्षहरूमा चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि प्रयासहरू गरिए पनि सम्भव भएको थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?