logo
२०८१ बैशाख ४ मंगलवार



मौलो पूजा सम्पन्न

राष्ट्रिय |


मौलो पूजा सम्पन्न


काठमाडौँ, असोज २१ गते ।  नेपाल प्रहरीले निशान झण्डा प्राप्त गरेपश्चात् हरेक बडादशैँ र चैतेदशैमा निरन्तररुपमा गर्दै आएको मौलो पूजा सम्पन्न भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बडादशैँका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । महानिरीक्षक खनालले बली पूजा गर्नाको साथै निशानमा पञ्जा छापसमेत लगाउनुभयो । प्रहरी महानिरीक्षक खनालले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाका लागि निशान प्रस्थान गराइएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिह्न अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिह्न अङ्कित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवम् महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । सङ्गठनको कार्यसम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ । नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?