logo
२०८० चैत्र १५ बिहीवार



गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो

राष्ट्रिय |


गोरखा दरबारको दशैँ घरमा विधिपूर्वक जमरा राखियो
सांकेतिक तस्विर


गोरखा,असोज १२ गते । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उहाँले बताउनुभयो । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताउनुभयो ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हँुदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको उहाँले बताउनुभयो ।

जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको उहाँले बताउनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।

बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलि दिने प्रचलन रहँदै आएको छ । यसपटक दशैँ अवधिभरिसम्म यो ३२ बोका, १२ भेडा, पाँच सुँगुर, एक सतारसहित १५ वटा राँगो र नौ कुखुरा बलि दिने उहाँले बताउनुभयो ।

यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० भँेडाबोका र एक सतारसहित ८४ वटा राँगा बलि दिने प्रचलन रहँदै आएको थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपन्छीको बलिसमेत घटाइएको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष बडादशैँमा पूजाआजाका लागि पुरानै ठेकेदारलाई बलि दिने पशुपन्छीको व्यवस्था गर्न आग्रह गरेअनुसार आवश्यक पशुपन्छीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले जानकारी दिनुभयो । गणेश र कलश स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?