logo
२०८१ बैशाख ६ बिहीवार



राजाका अधिकार कटौतिका लागि संघर्ष गरेकाे थिएँः नेपाल

राष्ट्रिय |


राजाका अधिकार कटौतिका लागि संघर्ष गरेकाे थिएँः नेपाल


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले २०४७ सालको संविधानको मस्यौदा गर्दा राजाका अधिकार कटौतिका लागि आफूले संविधान सुझाव आयोगमा रहेर अधिकतम संघर्ष गरेको बताउनुभयो ।

उहाँले संविधान सुझाव आयोगको सदस्यको रुपमा भरतमोहन अधिकारी र निर्मल लामाले स्पष्ट अडान राखेको चर्चा गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले भरतमोहन अधिकारी स्मृति फाउण्डेसनद्वारा राजधानीमा शनिबार आयोजित ‘भरतमोहन अधिकारी एक व्यक्ति, अनेक व्यक्तित्व’ कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले भरतमोहन अधिकारसँगको सहकार्य स्मरण गर्दै सबै पक्षलाई मिलाउन सक्ने क्षमता अधिकारीमा रहेको बताउनुभयो । कार्यक्रममा वामपन्थी नेता राधाकृष्ण मैनालीले शालिन व्यक्तित्व र संगठकका रुपमा अधिकारीको स्मरण गर्दै विमतिबीच सहमति खोज्ने क्षमता राख्ने नेताको रुपमा चर्चा गर्नुभयो ।

यस्तै, प्रा.कृष्ण पोखरेलले विद्यावारिधिको अवसर छाडेर कम्युनिष्ट राजनीतिमा समर्पित अधिकारी साधा जीवन र उच्च विचार राख्ने नेताको रुपमा आफुले चिनेको बताउनुभयो । यसैगरी, डा.गोविन्दबहादुर थापाले योजना र नीति निर्माण गर्दा तल्लो वर्गको जनताको हितलाई ध्यानमा राख्ने योजनाकारको रुपमा अधिकारीको चर्चा गर्नुभयो ।

कार्यक्रममा सोमप्रसाद पाण्डे, वरिष्ठ वामपन्थी नेता कमल कोइराला, फाउण्डेसनका अध्यक्ष सविता अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनमा अधिकारीले पु¥याएको योगदानको स्मरण गर्नुभयो । सोही अवसरमा अधिकारीका योगदानलाई चिरस्थायी बनाउन र जनस्तरमा लैजान फाउण्डेसन गठन गरिएको जानकारी दिइएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?