logo
२०८० चैत्र १५ बिहीवार



वर्षाले खजुराका सयौँ घर डुबानमा

प्रदेश |


वर्षाले खजुराका सयौँ घर डुबानमा


राँझा, असोज २ गते ।  बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको अहिलेसम्म रिपोर्ट प्राप्त भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् । उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् । आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८÷१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन् । विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो । डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वलीले अविरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुबान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबानपीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताउनुभयो । आजसम्ममा पीडितहरुको यकिन विवरण सङ्कलन हुने उहाँले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका वडा नं ३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाइ भएको छ ।

बुधबारको वर्षाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको न्यूरोड, घरबारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्रसमेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो ।

नेपालगञ्ज आएको विमान धनगढी पुग्यो

काठमाडौँबाट नेपालगञ्ज आउँदै गरेको बुद्ध एयरको जहान खराब मौसमका कारण बुधबार राति नेपालगञ्ज विमानस्थलमा अवतरण हुन नसकेपछि धनगढी पुगेको छ ।

काठमाडौँबाट ६४ यात्रु लिएर बुधबार साँझ ६ बजेर १५ मिनेटमा उडेको बुद्धको उडान नं ४०५ विमान निर्धारित समयमै नेपालगञ्ज पुगे पनि तीव्र हावासहितको वर्षाका कारण अवतरण हुन नसकेपछि धनगढी विमानस्थलमा अवतरण गर्नुपरेको बुद्ध एयर नेपालगञ्जका स्टेशन प्रमुख विनित शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार, केहीबेर आकाशमै उडेर अवतरणको प्रतीक्षा गरिए पनि मौसममा सुधार आउने सङ्केत नदेखिएपछि नेपालगञ्जदेखि करीब २०० किलोमिटर टाढा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी विमानस्थलमा पुगेर विमान अवतरण भएको छ । उक्त विमान अब आज बिहान धनगढीबाट यात्रु लिएर नेपालगञ्ज आउने शाहले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?