logo
२०८१ बैशाख ८ शनिवार



एकसय ४४ वर्ष बाँचेका माँझीको गाउँसम्म पिच हुने

राष्ट्रिय |


एकसय ४४ वर्ष बाँचेका माँझीको गाउँसम्म पिच हुने


जयकृष्ण यादव
इनरुवा, भदौ ३० गते । सुनसरीको इटहरीमा एकसय ४४ वर्षसम्म बाँचेर इतिहास बनाउनुभएका वीरनारायण माँझीको गाउँसम्म पिच बाटो पुग्ने भएको छ ।
इटहरी उपमहानगरको बहुवर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पिच पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गर्नुभयो ।

सोमबार डेढ किलोमिटर लामो सो बाटो आगामी वर्ष जेठ ४ गते सम्ममा कालोपत्रे भइसक्ने गरि सम्झौता भएको छ । यो वाटोको शिल्यान्यास सँगै इटहरीमा बहुबर्षे सडक निर्माण सुरु भएको छ । गाँउका ११ मूल बाटोलाई बहुबर्षे सडकका रुपमा उपमहानगरले कालोपत्रे गर्दैछ ।

शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख द्धारिकलाल चौधरीले अन्य सडक निर्माण र महत्वपूर्ण निर्माण परियोजना चाँडै सुरु हुने जानकारी दिनुभयो । उहाँले अब गाउँका जनताले उपमहानगबासी भएको अनुभूत गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख चौधरीले सडक निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने दाबी गर्नुभयो । उहाँले जनताले तिरेको करको कहिल्यै पनि दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले इटहरीको गाउँ बासिन्दालाई नगरबासी भएको पहिलो अनुभूति दिलाउन सडक निर्माण थालिएको बताउनुभयो ।

वडा नम्बर १३ का अध्यक्ष शिवनारायण चौधरीले गाँउका जनता विकासका गति देखेर उत्साहित भएको बताउनुभयो । वडा नम्वर ११ का वडाध्यक्ष रुपेश चौधरीले ऐतिहासिक ब्यक्तित्व वीरनारायण माँझीको नामको बाटो कालोपत्रे हुने भएपछि वडाबासी खुशी रहेको जनाउनुभयो । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार सम्झौता भन्दा अघिनै निर्माण सकिने गरी सोमबारैदेखि निर्माणको कामले तिव्रता लिने छ ।

वीरनारायण माँझीका पनाति हरीनारायण माँझीले उपमहानगरले यो सडक पिच गर्नु वीरनारायण माँझीप्रति सम्मान भएको प्रतिक्रिया जनाउनुभयो । इटहरी उपमहानगरका कर्मचारी महेश सुवेदीले २०५४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरपरिषद वीरनारायण माँझीलेनै उद्घाटन गर्नुभएको स्मरण गर्नुभयो ।

अहिले उपमहानगर भएपछिको पहिलो जनप्रतिनिधिले उहाँकै गाँउमा पहिलो बहुवर्षिय योजना शिल्यान्यास भएको वताउनुभयो । स्थानीय गयादेवी विश्वासले हिलो र धुलोबाट मुक्ति पाउने भएकाले आफूहरु हर्षित भएको बताउनुभयो ।

वीरनारायण माँझीका पनाति हरीनारायणका अनुसार वीरनारायण माँझीको जन्म वि.सं. १९१३ मा र निधन २०५७ सालमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?