logo
२०८० चैत्र १६ शुक्रवार



इन्द्रजात्रा सञ्चालन गर्न पाँच कराेडकाे अक्षय काेश 

राष्ट्रिय |


इन्द्रजात्रा सञ्चालन गर्न पाँच कराेडकाे अक्षय काेश 


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २५ गते । नेपाल सरकारले इन्द्रजात्रालगायत सो जात्रापर्वको सञ्चालन तथा व्यवस्थानका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ । नेपाल सरकारको भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारकासमेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा सञ्चालन हुँदैआएका जात्रा पर्वमध्ये ईन्द्रजात्राको सञ्चालत र व्यवस्थापनका लागि पाँच करोड रुपियाँको अक्षय कोषको व्यवस्था गरिएको छ ।

सो अनुसार, कोषमा जम्मा हुने पाँच करोडको ब्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्थापन गरिने छ । सो कोषमा सरकारबाट एक करोड ५० लाख, प्रदेश ३ सरकारबाट एक करोड, काठमाडौँ महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख रुपियाँ रकम जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ । सो कोषको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा एक समिति गठन समेत गरिने जनाइएको छ ।

सो समितिले प्रत्येक वर्ष इन्द्र जात्रामा गरिने खर्चको बाँडफाँड गर्नेछ । उक्त जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्ने जनाइएको छ । इन्द्रजात्राको सञ्चालन सम्बन्धी कार्यविधि काठमाडौँ महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेगरी निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “सांस्कृतिक परम्परा, रितिरिवाजको संरक्षण एवं प्रवद्र्धन कुनै पनि मुलुकको राष्ट्रिय गौरवको रुपमा रहेको हुन्छ ।

” विज्ञप्तिमा भनिएको छ, “अनन्तकालसम्म मौलिक स्वरुपमा तिनको निरन्तरताको लागि नेपालका मौलिक परम्परा, संस्कृति तथा जात्रापर्व सञ्चालनको दीगो तथा भरपर्दो व्यवस्था गर्न आवश्यक छ ।” सरकारको सो निर्णयप्रति सांसद रामवीर मानन्धर, जीवनराम श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठले स्वागत गर्नुभएको छ ।

नेपालको पहिचानको रुपमा स्थापित उपत्यकाको नेवारी समुदायको जात्रा पर्व संस्कृतिमध्ये महत्वपूर्ण इन्द्र जात्रालगायतको उपत्यकाका सञ्चालित पर्वहरुको संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोषको व्यवस्था गर्न माग हुँदैआएको प्रसङ्ग उल्लेख गर्दै तीन जना सांसदले सोको व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै निर्णयप्रति सरकारलाई धन्यवाद दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?