logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय विदेशमन्त्रीको राजनीतिक भेटघाट बाढीको समस्या समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने

राष्ट्रिय |


भारतीय विदेशमन्त्रीको राजनीतिक भेटघाट बाढीको समस्या समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने



सुरेशकुमार यादव

काठमाडौँ, भदौ ६ गते । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री एस. जयशङ्करले राजनीतिक भेटघाट पनि गर्नुभएको छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुका साथै नेपाल कम्युनिस्ट पार्टी
(नेकपा), नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । भेटमा दुई देशको सम्बन्ध, राजनीतिक अवस्था, विकास निर्माण, आपसी हित, चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।
मन्त्री जयशङ्करले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग बिहीबार भेट गर्नुभयो । दुई पक्षबीचको भेटमा बाढीका कारण दुवै देशमा हुने डुबान समस्या, पञ्चेश्वर जलविद्युत् आयोजना, कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले बताउनुभयो । बाढीका कारण दुवै देशलाई निकै क्षति हुने गरेको छ र त्यसको समाधान गर्न दुवै देश गम्भीर हुनुपर्ने कुरा सभापति देउवाले राख्नुभएको जानकारी उहाँले दिनुभयो । नेपाल–भारत सीमामा बाँधिएको बाँधका कारणले नेपालमा समस्या हुने गरेको र त्यसको समाधान गर्नुपर्ने विषयमा गहन कुराकानी भएको थियो ।
साथै भारतले नेपालमा निर्माण गर्न लागेको पञ्चेश्वर जलविद्युत् आयोजनाबारे पनि देउवाले जिज्ञासा राख्नुभएको थियो । भारतसँग नेपालको व्यापार घाटा पनि निकै बढेको हुँदा त्यसबारे पनि दुई देशबीच छलफल हुनुपर्ने कुरा सभापति देउवाले राख्नुभएको सल्लाहकार भट्टराईले बताउनुभयो ।
त्यसको जवाफमा मन्त्री जयशङ्करले डुबानका बारेमा आफू अवगत रहेको र दुई देश मिलेर त्यसको समाधान गर्ने स्पष्ट पार्नुभयो । पञ्चेश्वर आयोजनाको काम पनि अगाडि बढ्ने आश्वासन मन्त्री जयशङ्करले दिनुभएको उहाँले बताउनुभयो ।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग पनि उहाँले बिहीबार नै भेटघाट गर्नुभएको थियो । भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
दुई देशको हितका विषयमा कुरा आदानप्रदान हुनुका साथै भारत सरकार नेपालसँग कनेक्टिभिटी तथा आर्थिक सहयोग विस्तार गर्न उत्सुक रहेको थाहा पाएर आफूलाई खुसी लागेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू तथा मन्त्री जयशङ्करबीच बुधबार राति नै भेटघाट भएको थियो । त्यो भेटमा पनि राजपा नेपालका नेताहरूले बाढी तथा डुबानको विषयलाई प्रमुखतासाथ उठाउनुभएको थियो । वर्षायाममा आउने बाढीले दुवै देशलाई ठूलो नोक्सानी हुने गरेकाले यसमा गम्भीर भएर सोच्न आग्रह गरिएको जानकारी राजपा नेपालका संयोजक राजकिशोर यादवले दिनुभयो । मन्त्री जयशङ्करले पनि बाढी तथा डुबानको बारेमा भारत र नेपालको बीचमा कुराकानी भइरहेको र चाँडै नै समाधानतिर जाने भन्नुभएको संयोजक यादवले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?