logo
२०८० चैत्र १६ शुक्रवार



सर्च कमिटीको म्याद थप

राष्ट्रिय |


सर्च कमिटीको म्याद थप


 


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिको छनोटका लागि गठित सर्च कमिटीको म्याद भदौ २० सम्म थपिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित सर्च कमिटीले नाम सिफारिस गर्न नसकेपछि कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्च कमिटीको म्याद थप गर्ने निर्णय गर्नुभएको हो ।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार, त्रिवि उपकुलपतिमा निमित्त जिम्मेवारी त्यहाँका शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई दिइएको छ । त्रिविका उपकुलपति तीर्थराज खनियाँको पदावधि भदौ ६ गते शुक्रबार सकिँदैछ ।
उहाँसँगै कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको पनि म्याद भदौ ६ गते नै सकिँदैछ । नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकाल, कृषि विश्वविद्यालयका डिन शारदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयका डिन बिजुकुमार थपलियालाई सम्बन्धित विश्वविद्यालयको उपकुलपतिको निमित्त जिम्मेवारी दिइएको छ ।
यसैगरी, नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष छनोट गर्न शिक्षामन्त्रीकै अध्यक्षतामा बिहीबार नै सर्च कमिटी गठन गरिएको छ ।
यस्तै त्रिविका अनेकौँ अल्पकालीन र दीर्घकालीन समस्यालाई सम्बोधन गर्दै आफ्नो टिमले त्रिविको संस्थागत विकासमा उल्लेख्य काम गरेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?