logo
२०८१ बैशाख ८ शनिवार



स्वीकृत भयो दु्रतमार्गको डीपीआर

राष्ट्रिय |


स्वीकृत भयो दु्रतमार्गको डीपीआर


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ५ गते । काठमाडौँ–तराई/मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त द्रुतमार्गको डीपीआर स्वीकृत भएसँगै अब द्रुतमार्ग निर्माणको बाटो खुलेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो दु्रतमार्गको डीपीआर भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी नेपाली सेनालाई प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो । कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत भएको होे । यसअघि भारतीय कम्पनीले बनाएको डीपीआर अस्वीकृत भएको थियो ।
कोरियाली कम्पनीले गत वर्ष माघ २० गते डीपीआरको अन्तिम प्रतिवेदन नेपाली सेनालाई बुझाएको थियो । सेनाले अन्तिम स्वीकृतिका लागि चैत ५ गते रक्षा मन्त्राललाई बुझाएको थियो । पेस गरिएको पाँच महिनापछि सरकारले डीपीआर स्वीकृत गरेको हो । डीपीआर समयमा स्वीकृत नहुँदा गत आर्थिक वर्षमा विनियोजन गरिएको १५ अर्बमध्ये नौ अर्ब रुपियाँ सेनाले सरकारलाई फिर्ता गरेको थियो ।
स्वीकृत डीपीआरअनुसार सडक निर्माणको लागत एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार रुपियाँ लाग्नेछ । नयाँ डीपीआरअनुसार द्रुतमार्गको लम्बाइ घटेको छ । पहिलेको डीपीआरमा लम्बाइ ७६ दशमलव दुई किलोमिटर थियो भने अब ७२ दशमलव पाँच किलोमिटर हुनेछ । दु्रतमार्गमा पुलको जम्मा सङ्ख्या ८७ वटा, तीनवटा सुरुङ र १६ वटा ‘हाइराइज ब्रिज’ अर्थात् आकासे पुलको निर्माण गरिनेछ ।
एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा निर्माण भइरहेको सो द्रुतमार्गमा महादेव डाँडा, धोद्रे डाँडा र लेन डाँडामा गरी तीनवटा सुरुङ मार्ग रहने प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । डीपीआरअनुसार सुरुङको कुल लम्बाइ ६ दशमलव ४१ किलोमिटर हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?