logo
२०८० चैत्र १५ बिहीवार



आम्दानी बढेपछि केरा खेती विस्तार

अर्थ |


आम्दानी बढेपछि केरा खेती विस्तार


जयकृष्ण यादव

इनरुवा, माघ १४ गते । आम्दानी धेरै हुने भएपछि सुनसरीका किसान केरा खेतीतर्फ आकर्षित भएका छन् । तरकारीका लागि उपयुक्त जमिन भएको सुनसरीमा अब केराको पनि खेती बढेको हो । सुनसरीको इनरुवा नगरपालिका–९, बबियामा मात्रै ५० भन्दा बढी किसानले केराको व्यावसायिक खेती थालेका छन् । इनरुवाका किसानले सुरु गरेको व्यावसायिक केरा खेतीको दैनिक कारोबार नै तीन लाख रुपियाँभन्दा बढीको हुने गरेको बताइएको छ ।

सुनसरीमा केही वर्षयता व्यावसायिक केरा खेती फस्टाइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । अन्य खेतीबाट भन्दा केरा खेतीबाट तीन गुणा बढी फाइदा हुने भएकाले यहाँका किसान केरा खेतीतर्फ आकर्षित भएको बबिया केरा पकेट क्षेत्र सञ्चालक समितिका अध्यक्ष हरि मेहताले बताउनुभयो ।

“विशेष गरी इनरुवा बजारको नजिक छ, केरा बजारमा छिटो पु¥याउन सकिन्छ, मानिसको बानी पनि परिवर्तन भएर केरा खाने बढेका छन् । यसले गर्दा केरासहित फलफूलको माग बढी हुन थालेकाले किसान केरा खेतीमा आकर्षित भएका छन्,” मेहताले भन्नुभयो । सुनसरीमा १० वर्षअघिदेखि व्यावसायिक केरा खेती हुन थालेको किसान बताउँछन् । यहाँ एक हजारभन्दा बढी किसानको करिब ६०० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको र केरा पकेट तथा ब्लक कार्यक्रम सञ्चालन भएकाले थप केराको व्यावसायिक खेतीमा लाग्ने किसान बढेका छन् ।

यहाँका किसानले पाँच कट्ठादेखि १० बिघासम्ममा केरा खेती गरेका छन् । जिल्लाको इनरुवा, भोक्राहा नरसिंह, हरिनगर, गढी, देवानगञ्ज गाउँपालिकामा धेरै किसान व्यावसायिक केरा खेती गरिरहेका छन् । केरा खेती अन्य खेतीभन्दा सजिलो र विषादीको प्रयोग पनि त्यति धेरै गर्नु नपर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी योगेन्द्र यादवले बताउनुभयो । केरा फलफूलका रूपमा र होटल तथा रेस्टुरेन्टमा पनि केराको विभिन्न परिकार बनाएर बिक्री गर्न थालेपछि केराको माग बढ्दै गएको किसानको भनाइ छ ।

नगदे बालीका रूपमा रहेको केरा खेतीको विस्तार र हावाहुरीको जोखिममा रहेको केरा खेतीका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने किसान यदुनन्दन यादवको भनाइ छ । एक दशकदेखि व्यावसायिक केरा खेती गर्दै आउनुभएका इनरुवा–९ का किसान राजेश मेहताले आफ्नो जग्गामा पाँच बिघामा उन्नत जातको केरा मात्र लगाएको बताउनुभयो । प्रतिबिघा क्षेत्रफलमा केरा खेती गर्दा एक लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?