logo
२०८० चैत्र १६ शुक्रवार



निःशुल्कका नाममा अस्पतालको धन्दा

प्रदेश |


निःशुल्कका नाममा अस्पतालको धन्दा


शालिग्राम नेपाल

चितवन, माघ १४ गते । सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

सरकारसँगको सम्झौताविपरीत चितवन मेडिकल कलेजले बिरामीसँग पैसा लिएको तर उनीहरूलाई निःशुल्क उपचार गरेको भनी सरकारसँग भुक्तानी दाबी गरेको थियो । तीन जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिनेमध्ये कोरोना सङ्क्रमित भरतपुर महानगरपालिका–२० का कृष्ण भण्डारी गत जेठ २ गते चितवन मेडिकल कलेजमा भर्ना भएर असार ७ गते उपचारपछि घर जानुभएको थियो । यो क्रममा छ लाख ८२ हजार ७८० रुपियाँ बिल उठेको भण्डारीले बताउनुभयो । त्यसमा कलेजले एक लाख रुपियाँ छुट दिएर पाँच लाख ८२ हजार ७८० रुपियाँ आफूले तिरेको उहाँले जानकारी दिनुभयो ।

निःशुल्क उपचार गर्छु भनेर पैसा लिएपछि भण्डारीले जिल्ला प्रशासन कार्यालयमा केही हप्ताअगाडि नै जानकारी गराउनुभएको थियो तर यस विषयमा कुनै सुनुवाइ भएको थिएन । अहिले प्रशासन कार्यालयले सार्वजनिक रूपमा उजुरी दिन आह्वान गरेपछि आफूले उजुरी दर्ता गरेको उहाँले बताउनुभयो ।

३७ दिन अस्पतालमा बस्दा भेन्टिलेटर, आईसीयू र एचडीयूमा बसेर उपचार गरिएको बताउनुभयो । कुरुवाको खर्च, खाइखर्च र अन्य गरेर १२ लाख रुपियाँ सकिएको थियो । अस्पतालमा मात्रै पाँच लाख रुपियाँभन्दा धेरै तिरेको बिल आफूसँग भएको दाबी उहाँको छ ।

चितवन मेडिकल कलेजमा उपचार गराउनुभएकी हिमालक्ष्मी भट्टको परिवारले नौ दिनको ९० हजार रुपियाँ बुझाएको छ । बिरामीका आफन्त नारायण केसीले रकम बुझाएको तर अस्पतालले अहिले निःशुल्क उपचार गरेको भनी सरकारसँग पनि माग गरेको सुन्दा अचम्मित भएको बताउनुभयो । उहाँ जस्तै सिरहा गोलबजार–१३ का मनोजकुमार सिंहले पनि यो कलेजमा उपचार गराउँदा एक लाख ३८ हजार छ सय रुपियाँ तिर्नुभएको छ ।
निःशुल्क उपचार भने पनि पैसा तिर्नु परेको भन्दै उहाँले जिल्ला प्रशासन कार्यालयको इमेलमा प्रमाणसहित उजुरी दिनुभएको छ ।

प्रशासनले सूचना सार्वजनिक गरेपछि उजुरी दिने क्रम वृद्धि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिनुभयो । कतिपयको मौखिक उजुरी परेको छ, कतिले फेसबुकमार्फत उजुरी गर्नुभएको छ, उहाँले भन्नुभयो, “प्रमाण पुगेर आएका उजुरीमाथि आवश्यक अनुसन्धान हुनेछ, अझै उजुरी दिने समय बाँकी रहेकाले केही भन्न सकिँदैन । ”
अस्पतालले यसअगाडि पनि निःशुल्क उपचारको व्यवस्था भए पनि पैसा लिएको भनी निवेदन दिन आएका घटना भएको पौडेलले बताउनुभयो । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले सरकारसँग भएको सम्झौताविपरीत उपचारमा पैसा लिएको भन्दै बिरामीले गुनासो गर्दै आएका छन् ।

कोरोना सङ्क्रमितको उपचार व्यवस्थापन सम्बन्धमा सम्झौता भएका अस्पतालले गत वैशाखदेखि असार १५ गतेसम्म उपचार गरिएका बिरामीको सम्झौताबमोजिम निःशुल्क उपचार गर्ने गरी सम्झौता भएको थियो । सरकारले कोरोना सङ्क्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडीयूमा बसेको तीन हजार पाँच सय र आईसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार रुपियाँ मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?