logo
२०८१ बैशाख ७ शुक्रवार

  राष्ट्रिय गौरबको बेनी – जोमसोम–कोरला सडक  



ब्लास्टिङ गरेर अक्करेभीरमा सडक फराकिलो बनाइँदै

पढ्नै पर्ने |
राष्ट्रिय |
प्रदेश |


ब्लास्टिङ गरेर अक्करेभीरमा सडक फराकिलो बनाइँदै


ठाकुरप्रसाद आचार्य
बेनी माघ १३ गते । राष्ट्रिय गौरबको बेनी – जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सबैभन्दा कठिन मानिएको काभ्रेभीरमा सडक फराकिलो बनाउन विस्फोटक पदार्थ मार्फत ब्लास्टिङ गरेर पहाड फुटाउन थालिएको छ ।
भौगोलिक रुपमा अत्यन्त जोखिम र काम गर्न कठिन मानिएको म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरको अक्करे पहाड फुटाउन गत वर्षदेखि नै विस्फोटक पदार्थको प्रयोग गरिएको थियो । बाँकी खण्डमा यसपाली फेरि ब्लाष्टिङ मार्फत पहाड फुटाएर सडक फराकिलो बनाउन लागिएको बेनी –जोमसोम –कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।
सबै प्रक्रिया पूरा गरी नेपाली सेनाको सहयोगमा ६० मेट्रिक टन विस्फोटक पदार्थ ल्याइएको उहाँले बताउनुभयो । काभ्रेभीरमा ब्लाष्टिङको विकल्प थिएन आयोजना प्रमुख प्रजापतिले भन्नुभयो ‘आयोजनाकै सबैभन्दा चुनौती मानिएको काभ्रेभीरमा ब्लाष्टिङ गरेर ८ मिटर सडक निर्माण गर्नसके यो ठूलो उपलब्धि हुनेछ ।’ सडक फराकिलो बनेपछि यहाँ ढलान गर्ने योजना आयोजनाको छ ।
कम्तीमा दोहोरो सवारी आवतजावत हुने गरि सडक फराकिलो बनाउने लक्ष्य राखेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । काभ्रेभीरमा १६ सय मिटर सडकको ब्लास्टिङ गर्नुपर्नेमा करिब ४ सय मिटरको ब्लास्टिङ यस अघि नै सकिएको छ । ब्लास्टिङका लागि पहिला नै तीन हजारभन्दा बढी होल खोली तयारी अवस्थामा राखिएको थियो ।
जोमसोमस्थित नेपाली सेनाको बज्रदल गणबाट खटिएका सुरक्षाकर्मीको निगरानीमा शर्मा गजुरमुखी जेभीले दुई हप्ता अघिबाट ब्लास्टिङको काम अघि बढाएको आयोजनाका सुपरभाइजर इन्द्रशिंह शेरचनले बताउनुभयो ।
उहाँका अनुसार दिउसोको दुईबजे देखि साँझ ६ बजेसम्म यातायात बन्द गरेर ब्लाष्टिङ गर्ने गरिएको छ । सडक फराकिलो बनाउन करिब दुई महिनाभन्दा बढी समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
अहिले करिब साढे तीन मिटर फराकिलो रहेको सडकलाई कम्तीमा आठ मिटरसम्म फराकिलो बनाइने उहाँले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडकलाई ११ मिटर चौडा बनाउने मापदण्ड रहे पनि अक्करे पहाड भएकाले काभ्रेभिर क्षेत्रमा भने ६ देखि ८ मिटरसम्म फराकिलो बनाइने भएको छ । यो भीर सबैभन्दा जोखिम र दुर्घटना हुने खण्डमा पर्दछ ।
अक्करे ठूलो पहाड भएकाले अयोजनाकै सबैभन्दा यो कठिन खण्ड हो । विस्फोटक पदार्थको सहयोगले सडक निर्माण गरे पनि सुख्खा पहिरो जाने र सडक भत्किने जोखिम उत्तिकै छ । काभ्रेभीरमा सडक फराकिलो बनाउने काम सकिएपछि यसैवर्ष म्याग्दीको भुरुङ तातोपानीदेखि मुस्ताङको घाँससम्म सडक कालोपत्रे गरिने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?