logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै

राष्ट्रिय |


राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै


काठमाडौं, माघ १३ गते । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि जारी मतदानको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । सातै प्रदेशमा बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म हुने मतदानको मतपरिणाम आजै राती १० बजेसम्म सार्वजनिक हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलले जानकारी दिनुभयो ।

‘मतदान सम्पन्न भएपछि प्रक्रियागत कुराहरु हन्छन् । जस्तैः मुचुल्का गर्ने, सिल गर्नेलगायतका काम हुन्छन् । यी काम सकिएपछि सर्वदलिय बैठक बस्छ अनि मात्रै मतगणना सुरु हुन्छ,’ प्रवक्ता पौडेलले भन्नुभयो ।

यद्यपी, कुनै बाधा आएन भने राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै राति १० बजेसम्म आउने आयोगले अपेक्षा गरेको उहाँले बताउनुभयो । साथै मतगणनको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको पौडेलले बताउनुभयो ।

५९ सदस्यीय राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था अनुसार आगामी फागुन २० मा नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली काँग्रेसका तीन गरी १९ सदस्यको पदावधि समाप्त हुँदैछ ।

पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन भइरहेको हो ।

प्रदेश १ मा तीन, मधेश प्रदेशमा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि मतदान जारी रहेको छ ।

निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका गरी नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिी प्रदेश र सुदूरपश्चिम प्रदेश मतदान जारी रहेको छ । निर्वाचनको लागि प्रदेश १ मा ३६४, मधेश प्रदेशमा ३७२, बागमती प्रदेशमा ३४६, गण्डकी प्रदेशमा २२९, कर्णाली प्रदेशमा १९१, लुम्बिी प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा २२७ गरी सातै प्रदेशमा कुल २०२५ मतदाता रहेका छन् ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?