logo
२०८१ बैशाख १३ बिहीवार



तीनै तहका निर्वाचन शान्तिपूर्ण हुनेछः प्रम

मुख्य समाचार |
राजनीति |


तीनै तहका निर्वाचन शान्तिपूर्ण हुनेछः प्रम


काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र सम्पन्न हुने तीन तहका निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बलको २१औँ स्थापना दिवसका अवसरमा आइतबार उहाँले तीनै तहका निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन सरकार लागिरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको यो निर्वाचन अभियानलाई सफल पार्न सशस्त्र प्रहरीको अहं भूमिका छ, सशस्त्र प्रहरी सङ्गठनप्रति आमनागरिकको भरोसा पनि रहेको छ ।” आमनागरिकको जीउधनको सुरक्षा र मुलुकमा शान्ति अमनचयन कायम गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताउनुहुँदै उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति गरी जीउधनको रक्षाका लागि अहोरात्र खटेर काम गर्र्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

“सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षा, अमनचयनमा महìवपूर्ण भूमिका खेलेको छ, आगामी दिनमा अझै सशक्त ढङ्गले काम गरोस् भन्ने जनअपेक्षा रहेको छ । सशस्त्र प्रहरीसहित अन्य सबै सुरक्षा निकायले प्रभावकारी रूपमा काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो । आमनागरिकको स्वतन्त्र र शान्तिपूर्ण तरिकाले बाँच्न पाउने अधिकारको रक्षाका लागि सरकारका सबै अङ्ग लाग्नुपर्ने बताउनुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “सुरक्षाको अनुभूति सर्वसाधारणले गर्न सक्नुपर्छ । त्यसका लागि सबै सुरक्षा निकाय उत्तिकै जिम्मेवार हुनुपर्छ ।”

तत्कालीन अवस्थामा आफू नेतृत्वमा भएका बेला सशस्त्र प्रहरी बलको स्थापना गरिएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “विशिष्ट अवस्थामा स्थापना भएको यो प्रहरी सङ्गठनले स्थापनाकालदेखि हालसम्म निरन्तर रूपमा नेपाली जनतालाई विश्वास र भरोसायोग्य काम गरेको छ ।” सो अवसरमा प्रधानमन्त्री देउवाले प्राकृतिक विपत्ति तथा प्रकोप, कोरोनाजस्ता महामारीलाई नियन्त्रण र व्यवस्थापन गर्नमा सशस्त्र प्रहरीले अग्रपङ्क्तिमा रहेर खेलेको भूमिकाको सराहना गर्नुभयो ।

पछिल्लो दिन मुलुकमा देखिएका सुरक्षा चुनौतीसँग जुध्न सबै सुरक्षा निकायको समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी सङ्गठन आमनेपालीको विश्वास जितेको संस्था भएकाले राज्यले दिएको जिम्मेवारी भोलिका दिनमा कुशलतापूर्वक पूरा गर्न सक्नुपर्छ । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्ने दिशातर्फ कार्यक्रम विकास गर्नुपर्छ ।”

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले नेपालको राष्ट्रियता जोगाउन सशस्त्र प्रहरी बलले सीमा क्षेत्रदेखि लिएर आन्तरिक सुरक्षा व्यवस्थापनमा पु¥याएको योगदान कदरयोग्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै कठिनाइ अवस्थामा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी पूरा गरेको छ । त्यसैले यो सङ्गठनलाई भोलिका दिनमा अझ सशक्त र बलियो बनाउन जरुरी छ ।”

यसैगरी सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्र, राष्ट्रियता र जीउधनको रक्षा र सुरक्षाका लागि राज्यले दिएको जिम्मेवारी अझ सशक्त ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमित स्रोत र साधनको बाध्यतामा पनि अनेकौँ चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल सफल भएको बताउँदै उहाँले सीमा सुरक्षा, सीमा नाकामा हुने अवैध सामानको ओसारपसारलगायतका गतिविधिलाई नियन्त्रण गर्न सफल भए पनि सङ्गठनले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्ष उत्कृष्ट बाहिनीको रूपमा मधेस प्रदेशअन्तर्गतको बाहिनी नम्बर २ छिन्नमस्तालाई पुरस्कार प्रदान गर्नुका साथै सशस्त्र प्रहरीको गीत तथा स्मारिका पनि लोकार्पण गर्नुभयो । मुलुकमा माओवादी द्वन्द्व चर्किरहेका बेला वि.सं. २०५७ मा स्थापना भएको सशस्त्र प्रहरी बलले हाल सीमा सुरक्षा तथा आन्तरिक सुरक्षाको व्यवस्थापन गर्दै आइरहेको छ । विशेष गरी आतङ्कवादी क्रियाकलाप, सशस्त्र विद्रोहका गतिविधि नियन्त्रण, भीड तथा दङ्गा नियन्त्रण, प्राकृतिक विपत्ति तथा प्रकोप व्यवस्थापन र उद्धार जस्ता काममा सशस्त्र प्रहरीलाई सरकारले जिम्मेवारी दिँदै आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?