logo
२०८० चैत्र १५ बिहीवार



लुम्बिनीमा नमुना सभाहल र ध्यान केन्द्र

खुला |


लुम्बिनीमा नमुना सभाहल र ध्यान केन्द्र


लक्ष्मण पौडेल

भैरहवा, माघ ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा सभा सम्मेलन र ध्यान गर्न अब समस्या नहुने भएको छ । पाँच हजार मानिस अट्न सक्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त सभाहल र ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ ।
“अब ध्यान केन्द्रमा ल्यान्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ । त्यो काम पनि चालु छ । त्यस्तै झ्याल, ढोका लगाउने काम पनि जारी छ”, कोषका योजना प्रमुख सरोज भट्टराईले भन्नुभयो, “आगामी बुद्ध जयन्तीका दिन उद्घाटन हुनेछ । ”

लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो । २०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो तर सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको वरिष्ठ इन्जिनियरसमेत रहनुभएका योजना प्रमुख भट्टराईले भन्नुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि २०७९ असार मसान्तसम्म समय थप गरिएको हो ।

सम्मेलन केन्द्रको भवन मात्रै निर्माण गर्ने सुरुवाती योजना रहेकोमा पछि विभिन्न संरचना थप गरिएको थियो । पहिलो चरणमा निर्माण थालिएको पाँच हजार मानिस अट्ने सम्मेलन केन्द्रको निर्माण सकिएको इन्जिनियर भट्टराईले बताउनुभयो । २०७७ पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम भने आगामी असारसम्म पूरा हुने छ । दोस्रो चरणको काम करिब ५० प्रतिशत सकिएको भट्टराईको भनाइ छ । चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको पहिलो चरणको कामका लागि ३३ करोड रुपियाँ खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ । दोस्रो चरणमा पनि २७ करोड बराबरका संरचना निर्माण हुने छन् ।

२०७३ साल जेठ ८ गते २५६०औँ बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसको दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको शिलान्यास गरिएको थियो ।
दुई वर्षभित्रै सभागृह निर्माण गर्ने भनिए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा नै दुई वर्ष बितेको थियो । ३८६.८८ वर्ग मिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमुना भएको कोषको दाबी छ । सम्मेलन केन्द्रमा आवश्यकता अनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडित हुनेछ ।

पहिलो चरणमा सम्मेलन केन्द्र, दुईवटा शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ । लुम्बिनी अत्यन्त गर्मी हुने स्थल भएकाले तापक्रम तलमाथि गर्न मिल्ने गरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ ।
जापानिज वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले बनाएको लुम्बिनी गुरुयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भए पनि यसलाई गुरुयोजनामा मेल खाने गरी निर्माण गरिएको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?