logo
२०८० चैत्र १६ शुक्रवार



स्वास्थ्य लाभ गरेर माओवादी नेता पुन सोमबार नेपाल फर्किदै

स्वास्थ्य |


स्वास्थ्य लाभ गरेर माओवादी नेता पुन सोमबार नेपाल फर्किदै
फाइल तस्बिर


काठमाडौं, माघ ८ गते । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन लामो समयको उपचारपछि स्वदेश फर्किनुहुने भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफू स्वदेश फर्किन लागेको जानकारी गराउनुभएको हो । बैंकक र चीनको लामो उपचारपछि स्वास्थ्य लाभ गरेर नेपाल फर्किन लागेको उहाँको भनाइ छ।

‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किदैछु’, नेता पुनले फेसबुकमा लेख्नुभएको छ । असोज १३ गते पुन उपचारका लागि थाइल्याण्ड जानुभएको हो । लामो समयदेखि कमलपित्त रोगबाट पीडित पुन थाइल्याण्डबाटै मंसिर २० गते थप उपचारका लागि चीन जानुभएको हो।

पुनको स्वास्थ्य समस्या के हो ?
नेता पुनलाई कमलपित्तको मात्रा बढेर वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि सुरुमा ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत रुपमा सङ्क्रमण भएको कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन पूर्वसभामुख एवम् पत्नी ओनसरी घर्तीसँग उपचारका लागि बैंकक हुँदै चीन पुग्नुभएको हो । नेता पुनको स्वास्थ्यमा लामो समयदेखि समस्या देखिएको हो । २०७३ साल फागुनमा राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा नौ दिनसम्म उपचार गर्दासमेत उच्च ज्वरो, टाउको दुख्ने र वान्ता हुने समस्या ठिक नभएपछि नेता पुनलाई सोही समय उपचारका लागि थाइल्याण्ड लगिएको थियो ।

सबैभन्दा पहिला भारतको अपोलो अस्पतालमा उपचार गराउनु भएका पुनको रोग पत्ता नलागेपछि नेपाल फर्काइएको थियो । पुनको परिवारमा जन्डिसको समस्या वंशाणुत रुपमै देखिएको चिकित्सकले बताएका छन् । उहाँका एक भाइको जन्डिसकै कारण मृत्यु भएको थियो । बुबामा समेत समान समस्या देखिएकाले चिकित्सकले यसलाई वंशाणुगत समस्या भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?