logo
२०८१ बैशाख ७ शुक्रवार



जहाज आकाशमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस, अवस्था सामान्य

पढ्नै पर्ने |
खुला |
प्रदेश |


जहाज आकाशमा  होल्ड हुँदा आत्तिएर  एक यात्रु बेहोस, अवस्था सामान्य


सिराज खान
नेपालगञ्ज, माघ ६ गते । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर एक जना महिला यात्रु बेहोस हुनुभएको छ । उहाँ सामान्य उपचारपछि घर फर्कनुभएकाे छ । 
मौसम खराब हुँदा करिब आधा घण्टाजति जहाजलाई आकाशमै होल्ड गरेर राखिएपछि सो विमानमा यात्रा गरिरहनुभएकी काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस हुनुभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उहाँलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताउनुभयो ।
अस्पतालमा पुगेपछि उहाँको होस खुलेको र नेपालगञ्जमा रहनुभएका उहाँका आफन्तले अस्पतालमा पुगेर उहाँ सँगै रहनुभएको पनि सई शाहले बताउनुभयो ।
विमानमा एक्लै यात्रा गरिरहनु भएकी थापा आत्तिएको र डराएको विमानमा रहनुभएका अन्य यात्रुहरुले जनाएको पनि प्रहरीले जनाएको छ ।
बिहीवार बिहान काठमाडौंबाट ८ बजे उडान भरेको बुद्ध एयरको उक्त जहाज ८ः५५ बजेसम्म नेपालगञ्जमा अवतरण गरिसक्नुपर्नेमा भिजिविलिटी कम भएका कारण जहाजलाई नेपालगञ्जको आकाशमा करिब ३० मिनेट नै होल्ड गरेर ९.२५ मा अवतरण गराइएको थियो ।
मौसमको खराबी वा ट्राफिकका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य मानिने भए पनि ती महिला यात्रु आत्तिएकोले अलिकति स्वास्थ्यमा समस्या आएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।
सो बारेमा बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेसँग जानकारी माग्दा उहाँले आत्तिएर जहाजमा बेहोस हुनुभएकी महिलाको सामान्य उपचारपछि उनका आफन्तले आफूसँग घर लिएर गैसकेको बताउनुभयो ।
पछिल्लो समयमा जहाजहरुमा उड्दा उड्दै ढोका खुल्ने, अन्य खराबी आउने र इन्जन बन्द हुने कारणले केही यात्रुहरु आत्तिने र तर्सिने गरेको पाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?