logo
२०८१ बैशाख ७ शुक्रवार



हिउँ पन्छाएपछि व्यास क्षेत्रमा फोन सेवा सुचारु

पढ्नै पर्ने |
प्रदेश |


हिउँ पन्छाएपछि व्यास क्षेत्रमा फोन सेवा सुचारु


लोकेन्द्र जोशी
दार्चुला, पुस ३० गते । दार्चुलाको व्यास गाउँपालिकामा हरेक वर्ष हिमपातका कारण सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । गत सातादेखि भएको हिमपातका कारण अवरुद्ध सञ्चार सेवा हिउँ पन्छाएपछि सुचारु भएको छ । हिमपातका कारण सञ्चारविहीन बनेको व्यास क्षेत्रमा शुक्रबारबाट फोन सेवा सुचारु भएको स्थानीय करन खत्रीले जानकारी दिनुभयो । दार्चुला–तिङ्कर सडकमा कार्यरत नेपाली सेना, कर्मचारी र स्थानीय युवाको टोलीले टावरको सोलार प्यानलमा थुप्रिएको हिउँ पन्छाएपछि टावर सञ्चालनमा आएको खत्रीले बताउनुभयो । टावरमा उर्जाका लागि प्रयोग गरिएको सोलार प्यानल हिउँले ढाकेपछि सञ्चारसेवा बन्द भएको थियो ।
व्यास गाउँपालिका–४ स्थित कैचुलामा रहेको नेपाल टेलिकमको टावरबाट व्यास गाउँपालिकाको केन्द्र सुन्सेरा, राप्ला, दुम्लीङ, धौलाकोट, सिना लगायत गाउँहरु र भारतको सोसा, पाङला लगायतक्षेत्रका स्थानीय बासिन्दाले सञ्चार सेवा पाउँदै आएका छन् । कैचुला टावरसम्म पुग्ने बाटोमा हिउँ जमेकोले जोखिमपूर्ण बाटो छिचोल्दै नेपाली सेना र युवाको टोली कैचुला पुगेको थियो । भारी हिमपातको बाटो छिचोल्दै बेल्चा बोकेर हिउँ पन्छ्याउन टोली कैचुला टावरमा पुगको खत्रीले बताउनुभयो ।
व्यास क्षेत्रको टावरसम्म विद्युत नपुगेको कारण सौर्य ऊर्जामा समस्या आउने वित्तिकै सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । माघे संक्रान्तिका बेला चेलिबेटी तथा बाहिर रहेका आफन्तसँंग कुराकानी गर्न समस्या भइरहेका बेला जोखिम छिचोल्दै हिउँ पन्छ्याएर टावर सुचारु गरेकोपछि सहज भएको स्थानीयले बताएका छन् । अझै पनि दार्चुलाका अधिकासं टावरसम्म विद्युतीकरण नहुदा घाम नपरेको बेला वा हिमपातको समयमा सञ्चार सेवा अवरुद्ध हुने गरेको स्थानीय हरक कार्कीले बताउनुभयो ।
कैचुला टावरस्थित सोलार प्यानलको हिउँ पन्छाउदै नेपाली सेना र स्थानीय युवाहरु ।
तस्बिर ः लोकेन्द्र जोशी÷दार्चुला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?